नेपालमा आज राष्ट्रिय धान दिवस, आत्मनिर्भर बनाउन जोडतोड
नार्कले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो। २०७४ सालमा नार्कले चैतमा किसानलाई चैते–५ जातको धान लगाउन सकिने सिफारिस गरेको थियो। त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको देखिन्छ। चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए। अहिले किरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ। यो जात पनि किसानले मन पराउन थालेका छन्।
बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेको नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ। हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ। हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ।
कृषि विभागका महानिर्देशक घिमिरेका अनुसार यस पटकको नाराले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं विकास तथा उपलब्ध प्रविधिको प्रचार गरी त्यसको अवलम्बन गर्ने सन्देश दिएको छ।
कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलले नेपालमा धान उत्पादनमा नभई व्यवस्थापनको समस्या रहेको बताउनुभयो। नेपालीलाई चाहिने जति धान नेपालमै उत्पादन हुन्छ तर स्वाद अनुसारको धान उत्पादन नभएका कारण परनिर्भर हुनुपरेको छ।
यो चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो। अगामी आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको छ। धान बालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले जनाएको छ।
आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा र चालु आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो। गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादनमा वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ। यो वर्ष हालसम्म ९.८ प्रतिशत धान रोपाइँ भएको छ।