मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना तीन महिनामा सम्पन्न हुने
कार्यालयका अनुसार दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक निर्माण भइरहेको छ भन २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माणको काम भइरहेको छ। निगमले मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना दोस्रो चरणअन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरेको थियो। सो ठेक्का सम्झौताअनुसार कम्पनीले सन् २०२३ को डिसेम्बरमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो। सन् २०२४ को जनवरीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयसीमाभित्र दोस्रो चरणको काम सम्पन्न हुनसकेको छैन।
निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ‘ओइल वाटर स्प्रेटर’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भइरहेको छ। निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन्। निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजर एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्यांक, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्दै आइरहेको छ।
त्यसैगरी इन्डियन आयल कर्पोरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्याङक, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्यांक निर्माण गर्दै आइरहेको छ।
सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर कुल दुई अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो। सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना बनाइएको थियो।
पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन। जसका कारण पनि दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको छ।
निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ओइलवाटर स्प्रेटर, पिएमसिसी रुमलगायत पूर्वाधार निर्माण हुँदै आइरहेको छ। दुवै पक्षले अहिले विभिन्न पूर्वाधार निर्माण गर्दै आइरहेका छन्। पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेलको आयात भइरहेको निगमले जनाएको छ।