‘फोटोग्राफी’बाट आम्दानी गर्दै कैलालीका युवा
सोही ठाउँका हर्क धामी दुई वर्षदेखि घोडाघोडीमा फोटोग्राफीको काम गर्दै आउनु भएको छ। सुरुका दिनमा सोचेजस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षाभन्दा राम्रो कमाई भएको बताउनुभयो। ‘फोटोग्राफीबाट कुनै विशेष दिनमा दिनकै रु १० हजारसम्म कमाई गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘महिनामा रु ६० देखि ७० हजारसम्म कमाई हुन्छ।’ उहाँले पैसाकै लागि विदेश जानु नपर्ने भन्दै देशमै थुप्रै सम्भावना रहेको बताउनुभयो।
फोटोग्राफीसँगै घोडाघोडीमा पर्यटकलाई लक्षित गरेर घोडा व्यवसाय पनि फस्टाएको छ। घोडाघोडी नगरपालिका वडा नं ४ का वसन्त शाहीले कालिकोटबाट दुईवटा घोडा ल्याएर घोडाघोडीमा पर्यटक घुमाउने काम गर्दै आउनु भएको छ।
‘घोडाघोडीको नामले परिचित क्षेत्रमा घोडा आवश्यक छ भन्ने लागेर कालिकोटबाट घोडा ल्याएर पर्यटकलाई घुमाउने काम गर्दै आएको छु’, शाहीले भन्नुभयो, ‘पर्यटकको रोजाइमा घोडा परेका छन्। जसबाट राम्रो आम्दानी पनि भइरहेको छ।’ उहाँले घोडा चढेबापत रु २५ देखि एक सयसम्म लिने गर्नु भएको छ। अब कर्णाली चिसापानी र टीकापुर उद्यानमा पनि पर्यटकलाई लक्षित गर्दै घोडा राख्ने तयारीमा रहेको शाहीले बताउनुभयो।
पछिल्लो समय पर्यटकीय क्षेत्रमा फोटोग्राफी र सांस्कृतिक पहिचान झल्काउने पोशाकको माग निकै बढेको छ। कैयौँ आन्तरिक पर्यटक पहिचान झल्काउने पोशाक लगाएर तस्बिर खिच्नकै लागि पनि त्यस क्षेत्रमा पुग्ने गरेका छन्। एउटा तस्बिरको फोटोग्राफरले रु २० लिने गर्छन्। कुनै पोशाक लगाएको रु एक सय लाग्छ।
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त संरक्षणमा घोडाघोडी ताल रहेको छ। त्यहाँ रु १० प्रवेश शुल्क लाग्छ। दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तालको अवलोकनका लागि पुग्ने गर्छन्।
त्यहाँबाट भएको आम्दानी मञ्च र नगरपालिकाले संयुक्त रूपमा लिने गरेको मञ्चका कर्मचारी दीपक शाह बताउनुहुन्छ। उहाँका अनुसार वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको छ। पूर्वपश्चिम राजमार्गसँगै रहेको ताल पर्यटकका लागि मात्रै नभई चराचुरुङ्गीका लागि अझ विशेष छ।