नेपाली

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

criPublished: 2024-06-10 16:03:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ। आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

“बैठक व्यवस्थापनका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवम् सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ”, अर्थमन्त्री पुनको सचिवालयले भनेको छ। बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ।

उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक सञ्चालन हुनेछ। समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन रहने तय भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ पनि बैठकमा वक्ताका रूपमा सहभागी हुनुहुनेछ। विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैङ्कका अध्यक्ष अजय बङ्गा, बैङ्कको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्गलगायत उच्चपदस्थ अधिकारीहरू नेपाल आउने जनाइएको छ।

सहसचिव नेपालका अनुसार विश्व बैङ्कका दाता करिब ६० र साझेदार ९० भन्दा बढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने छन्। सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैङ्कको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो। आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn