नेपाललाई समुद्रसम्म पहुँचका लागि भारतले आफ्नो भूमि हुँदै तोकेका रुट दशकौं पुराना, वैकल्पिक मार्गको खोजी
भारतले नेपाललाई समुद्रसम्म पहुँचका लागि दिएको सर्वाधिक महत्त्वका यी रुट तीसौं वर्ष पुराना छन् । भारतभित्र भएको राजमार्ग तथा पुल निर्माण क्षेत्रमा भएको विकास अहिले धेरै फेरिइसकेको छ ।
समुद्रसम्म पहुँचका लागि नयाँ स्थलमार्गहरूको अध्ययन तथा अहिले सुविधा हुन सक्ने रुटको पहिचान गर्नुपर्ने कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल बताउनुभयो।
नेपालले कोलकाता र कोलकाता नजिकैको हल्दिया तथा विशाखापट्टनम बन्दरगाह प्रयोगको अनुमति पाएको छ । विशाखापट्टनम बन्दरगाह सन् २०१६ यता मात्रै नेपालले प्रयोग गर्न पाएको हो । नेपालमा तेस्रो मुलुकबाट आयात हुने सामानको दुई तिहाइ हिस्सा कोलकाता हुँदै आउँछ । पछिल्लो वर्ष अप्रिल २०२३ देखि मार्च २०२४ सम्म नेपालका लागि ४९ हजार ५ सय ५१ कन्टेनर सामान कोलकाता–हल्दिया बन्दरगाहबाट आएका छन् । त्यसअगाडिको वर्षमा ५० हजार ८ सय ८१ कन्टेनर सामान आएको थियो । मेसिनरी सामान, कच्चा पदार्थदेखि आइरन, कोइला, रासायनिक मल, लत्ताकपडा, खाद्यान्न, तरकारी र फलफूलसम्म यहाँबाट आउँछ ।
नेपालले विश्वका धेरै मुलुकबाट सामान निर्यात गर्दै आएको छ । कोलकातामा ७० देखि ८० प्रतिशत चीनबाट आएका सामान हुन्छन् ।
तेस्रो मुलुकबाट आएका सामानलाई यथाशक्य छिटो झन्झटरहित तरिकाले नेपाल पठाउन कोलकातामा रहेको महावाणिज्य दूतावासले सहजीकरण गर्ने गरेको महावाणिज्यदूत पौडेलले जनाउनुभयो। सामानमा ढुवानीदेखि बन्दरगाह सञ्चालनको खर्च सबै जोडिँदा नेपाल पुग्दासम्म उक्त सामानको मूल्य बढ्ने गर्छ । उहाँले भन्नुभयो, ‘कोलकातादेखि वीरगन्ज, विराटनगर वा भैरहवा सबैतिर कैयौं बाटा बनेकाले विकल्पको अध्ययन गरेर सजिलो हुने नयाँ रुट तोकिँदा राम्रो हुन्थ्यो । अहिले कोलकाताबाट हिँडेको कन्टेनर वीरगन्ज पुग्न ४ देखि ५ दिन लाग्छ ।’