नेपाल-चीन टिपतालासम्म खुल्यो सडक, पहिलो पटक सवारी साधन पुगे
गोरखापत्र अनलाइनका अनुसार सडक पहुँच विस्तार भएर गाडी टिपतालासम्म पुगे पनि नाका सञ्चालनमा आउने सकेको छैन । कोरोना (कोभिड–१९) महामारीसँगै बन्द भएको टिपताला नाका पाँच वर्षदेखि बन्द रहेको छ । टिपताला नाका खुलाउनलाई निरन्तर पहल भने भइरहेको छ । गत मे ७ अर्थात् वैशाख २५ गतेदेखि नाका खुल्ने भनिए पनि अहिलेसम्म नखुलेको हो ।
पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा गएको स्थानीय सुरक्षा प्रमुखसहितको नेपाली टोली र तिब्बतको डिङजी काउन्टी सत्ताका प्रतिनिधिबिच टिपताला नाका खुला गर्ने विषयमा छलफल भएको थियो । त्यस बेला मे ७ देखि नाका खुला गर्ने गरी छलफल भए पनि हालसम्म नखुल्नुको कारणबारे कुनै जानकारी नभएको प्रजिअ आचार्यले बताउनुभयो। नाका खुला गर्ने विषयमा तिब्बतका तर्फबाट आवश्यक तयारी पूरा नभएको लगायतका प्राविधिक कारण हुनसक्ने उहाँको भनाइ छ।
यसअघि मे ७ देखि नाका खुल्ने सूचना पाएपछि सोही दिनदेखि तिब्बत जाने गरी स्थानीयले प्रवेश अनुमति लिएका थिए । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङकाअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रवेश अनुमति लिएका ३० जना बढी नाका खुला हुने पहिलो दिन नै तिब्बत प्रवेश गर्ने तयारीमा रहेको भए पनि उनीहरू रोकिएका थिए। तिब्बत जाने योजनामा रहेको स्थानीयहरू अहिले पनि नाका सञ्चालनको प्रतीक्षामा रहेको वालुङले बताउनुभयो ।
प्रजिअ आचार्यका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, वडा ७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङकासमेत करिब १३० जना सर्वसाधारणले तिब्बत प्रवेशका लागि अनुमति पत्र लिएका छन् । टिपताला नाका बन्द भएपछि लामो समयसम्म आफन्त भेटघाट गर्न नपाएका सर्वसाधारण नागरिक तिब्बत जान पाउने दिन पर्खिरहेका छन् । यहाँको पापुङ, ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा लगायतमा बसोबास गर्ने धेरै परिवारमा तिब्बतसँग सम्बन्ध जोडिएको छ । यी बस्ती र तिब्बतबिच वैवाहिक सम्बन्ध रहेको छ।