नेपाली

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

criPublished: 2024-05-19 17:15:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भेरी करिडोर अन्तर्गत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ। त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्लुबगर ‘बेलिब्रिज’ शनिबारबाट सञ्चालनमा आएको गोरखापत्र अनलाइनले लेखेको छ। भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोर अन्तर्गत तल्लुबगर बेलिब्रिज निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बताउनुभयो।

बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्लासँग सिधा सडक सञ्जाल जोडिएको छ। तीन वर्षअघि सडक डिभिजन कार्यालय चौरजहारीले सो बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो। काम सुरु भएको तीन वर्षपछि बेलिब्रिज सञ्चालनमा आएको हो।

२०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपियाँमा ‘बेलिब्रिज’ निर्माणको ठेक्का पाएको थियो। विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।

गत वर्षको वैशाख ७ गते बेलिब्रिज निर्माणको क्रममा भाँचिएपछि दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाइते हुनुभएको थियो। हाल निर्माण सम्पन्न भएपछि कार्यालयको प्राविधिक टोलीले शुक्रबार बेलिब्रिजको भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो। बेलिब्रिजले २५ टनसम्म भार थेग्नसक्ने कार्यालय प्रमुख रञ्जितकारले बताउनुभयो।

यो सडकलाई रुकुमपश्चिम, जाजरकोट र डोल्पाको लाइफलाइनका रुपमा लिइएको छ। यो करिडोरले भारतको रुपैडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा समेत लिइन्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn