नेपालमा चालु आर्थिक वर्षमा चौध अर्ब छत्तिस करोड डलर सञ्चिति

आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थक वर्ष २०८०/८१ को नौ महिनासम्म (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार बाह्य क्षेत्रसँग सम्बन्धित अधिकतम सूचक सुदृढ अवस्थामा देखिएको गोरखापत्र अनलाइनले लेखेको छ।
प्रतिवेदन अनुसार मुलुकको बैङ्किङ क्षेत्रसँग १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। जुन गत असारको तुलनामा २२.७ प्रतिशतले बढी हो। यस्तो सञ्चिति नेपालको एक वर्षको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै उक्त सञ्चितिले १५ महिनाको वस्तु आयात धान्न पुग्ने आकलन छ। कुनै समय सञ्चिति घटेर छ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थाका कारण सरकारले १४ प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। सोही समय सञ्चिति घटेर सङ्कटकालीन अवस्थामा पुगेको श्रीलङ्कासँग दाँजेर नेपालको बाह्य अवस्थाको तुलना हुने गथ्र्यो। त्यसको दुई वर्षमै नेपालको विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा उच्च अवस्थामा पुगेको हो।
विदेशी विनिमय उच्च हुनुमा मुलुक भित्रिने विपे्रषणको वृद्धिदरको महत्वपूर्ण योगदान रहेको तथ्याङ्कले देखाउँछ। प्रतिवेदन अनुसार चैतसम्म मुलुकमा आठ अर्ब १५ करोड अमेरिकी डलर बराबरको विपे्रषण भित्रिएको छ। जुन अघिल्लो वर्षको नौ महिनाको तुलनामा १७.७ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा मुलुकको चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपियाँले घाटामा थियो। त्यस्तै चैतसम्म तीन खर्ब ६५ अर्ब रुपियाँले शोधनान्तर स्थिति बचतमा देखिन्छ। अघिल्लो वर्षको चैतसम्म शोधनान्तर एक खर्ब ७४ अर्ब रुपियाँले बचतमा थियो।