एकैदिनमा सत्तरी आरोही सगरमाथाको शिखरमा
आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा चुचुरो टेक्नुभएको हो । उहाँ आरोहण सकेर दोस्रो शिविरमा ओर्लिइसक्नुभएको छ ।
कामिरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुका ४७ वर्षीय पासाङ दावा (पादावा) शेर्पा हुनुहुन्छ । उहाँले गत वर्ष यही सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर (२६ औँ र २७ औँ पटक) कामिरिताकै हाराहारीमा कीर्तिमान बनाएपछि कामिरिताले एक साता नबित्दै पुनः सगरमाथा आरोहण गरेर २८ औँ पटकको रेकर्ड बनाउनुभएको थियो । गत वर्ष वैशाख ३० गते सगरमाथाको पहिलो आरोहण भएको थियो ।
यस वर्ष सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ४१४ आरोहीले अनुमति लिएका छन् । स्वीकृति लिनेमा ७५ महिला र ३३९ पुरुष छन् । उनीहरूलाई गत फागुन १८ देखि वैशाख २५ गतेसम्मको अवधिमा आरोहण अनुमति दिइएको हो ।
सगरमाथामा अनुमति दिएबापत ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपियाँ सलामी दस्तुर (राजस्व) सरकारका नाममा दाखिला भएको छ । गत वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४७८ जनाले अनुमति लिएका थिए, जुन हालसम्मकै सर्वाधिक हो ।