जलविद्युतपछि प्रसारणलाइनमा कोरियाको चासो, ५३ अर्ब लगानी गर्दै
जलविद्युत् आयोजनापछि कोरिया नेपालको प्रसारण प्रणालीमा लगानी गर्न इच्छुक देखिएको छ । एक्जिम बैंक अफ कोरिया नेपालको प्रसारण प्रणालीमा लगानीका लागि इच्छुक देखिएको हो । नेपालको प्रसारण प्रणालीमा लगानी गर्ने विषयमा एक्जिम बैंकका प्रतिनिधिहरुले अर्थ मन्त्रालयसँग छलफल समेत गरेका छन् । कोरियाले रसुवामा निर्माणाधीन अप्पर त्रिशुली-१ जलविद्युत आयोजनामा लगानी गरेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियाली सरकारी स्वामित्व रहेको कोएन, विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको लगानी रहेको क्लिकमाण्डु अनलाइनले जनाएको छ।
बुधबार दक्षिण कोरियाका राजदूत पार्क ताई योङले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा बोल्दै नेपालको प्रसारण प्रणालीमा लगानी गर्न तयार रहेको बताउनुभएको थियो। नेपाल विद्युत प्राधिकरणका ३ प्रसारणलाइन आयोजनामा लगानी गर्ने विषयमा एक्जिम बैंक अफ कोरियासँग छलफल भइरहेको हो ।
शितलापाटी-इनरुवा ४०० किलोभोल्ट (केभी), इनरुवा-अनारमनी ४०० केभी र तिङला-दुधकोसी-ढल्केबर ४०० केभी प्रसारणलाइनका अध्ययन पूरा भएको छ । प्राधिकरणले प्राथमिकताका आधारमा शितलपाटी-इनरुवा, इनरुवा-अनारमढी र दुधकोसी-ढल्केबरमा लगानी खोजिरहेको छ ।
शितलपाटी-इनरुवा प्रसारणलाइन करिब ९४ किलोमिटर हुनेछ। यो प्रसारणलाइन १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि आवश्यक छ । अप्पर अरुण जलविद्युत आयोजनाको निर्माणको पूर्व तयारी भइरहेको छ । आगामी असारसम्म फाइनान्सियल क्लोजर गर्ने तयारीमा नेपाल विद्युत प्राधिकरण रहेको छ ।
इनरुवा-अनारमढी प्रसारणलाइन ९० किमीको हुनेछ । पूर्वमा ओद्योगिक करिडोरमा पर्याप्त बिजुली उपलब्ध गराउन आवश्यक छ । प्रसारणलाइनको अभावमा औद्योगिक क्षेत्रले गुणस्तरीय बिजुली पाउन सकेको छैन । भने यो प्रसारणलाइन बंगलादेश र भारतमा समेत बिजुली निर्यातका लागि समेत सहयोगी हुनेछ ।