नेपाल बुढ्यौली समाजतर्फ अग्रसर ! घट्दै बालबालिकाको संख्या
‘प्रजननदर र मृत्युदर घट्दो क्रममा र बाँच्ने आयु (उमेर) बढ्दो क्रममा भएका कारणले यसरी जनसंख्याको संरचनामा परिवर्तन आएको हामीले भन्न सक्छौं,’ निर्देशक लामिछानेले भन्नुभयो। देशको जनसंख्या नियन्त्रणमा राख्न ६० वर्षदेखि गरेका प्रयासका कारण अहिले वार्षिक ०.९२ प्रतिशत जनसंंख्या वृद्धिदर हासिल गर्न सफलता मिलेको उहाँले बताउनुभयो।
नेपालमा हालको जनसंख्या वृद्धिदर विश्व र एसियाको तुलनामा अलि बढी छ। विश्वव्यापी जनसंख्या वृद्धिदर ०.९० प्रतिशत र एसियामा वृद्धिदर ०.८० प्रतिशत छ। स्वास्थ्य क्षेत्रमा भएको क्रमिक सुधारले पनि आयु लम्बिएर बुढ्यौली संख्या वृद्धि हुँदै गएको हो। त्यस्तै सहरीकरणसँगै महिला आर्थिक क्रियाकलापमा सहभागी हुन थालेकाले सन्तान कम जन्माउन थाले।
जनसंख्याविद् एवं त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङका अनुसार जनगणनाको तथ्यांकले हरेक सूचकांकमा परिवर्तन ल्याएकाले अब राज्यले कुनै पनि क्षेत्रको नीति निमार्ण गर्दा जनसंख्याका विषयमा अध्ययन गर्न आवश्यक छ। ‘६५ वर्ष उमेरमाथिका मानिसको संख्या बढ्दै छ। त्यसैले अब उनीहरूका लागि बुढ्यौलीमैत्री नीति राज्यले ल्याउनुपर्छ,’ गुरुङले भन्नुभयो।
उहाँका अनुसार नागरिकको स्वास्थ्य सेवा र शिक्षामा पहुँच बढ्दै गएकाले मृत्युदर र जन्मदर घटेको हो। सन्तान कम जन्माउने क्रम पनि बढ्दै गएको छ। अब राज्यले जनसंख्या नियन्त्रण होइन, व्यवस्थापनको नीति लिनुपर्छ।