नेपाली

सगरमाथा क्षेत्रमा हिमपात

CRIPublished: 2024-05-07 15:47:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यही मे ५ तारिख आइतबार साँझदेखि सगरमाथा क्षेत्रमा हिउँ पर्न थालेको छ । वर्षाको प्रणाली भित्रिएसँगै सगरमाथा र आसपासका हिमाली क्षेत्रमा हिमपात भइरहेको सगरमाथा आधार शिविरमा रहेको पिरामिड प्रयोगशालाले जानकारी दिएको गोरखापत्र अनलाइनले लेखेको छ ।

प्रयोगशालाका व्यवस्थापक काजी विष्टले भन्नुभयो, “आइतबार दिउँसोसम्म घाम लाग्यो । साँझदेखि हिउँ पर्दै रोकिँदै, फेरि हिउँ पर्दै गर्ने क्रम जारी छ ।” सो प्रयोगशालामा मौसम स्टेसन रहेकाले आसपासको मौसमी अवस्थाको विश्लेषण भइरहेको उहाँले बताउनुभयो ।

हिउँ पर्न थालेपछि चिसो बढेकाले सगरमाथा आरोहीसमेत आधार शिविर आसपास रोकिएका छन् । हिमाली र पहाडी भेगमा मेघगर्जनसहितको चट्याङ परिरहेकाले सतर्क रहन मौसमविद्ले सावधानी गराएका छन् । अचाक्ली गर्मी र प्रदूषण बढ्दा सगरमाथा क्षेत्रमा पनि त्यसको असरले मौसम तातिन थालेको थियो ।

देशका विभिन्न भेगमा भने पूर्वमनसुन (प्रिमनसुन) को हल्का वर्षा सुरु भएपछि गर्मीमा थोरै राहत पुगेको छ । लामो समयको खडेरी भुलाउने गरी भने हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । लामो खडेरी, डढेलो र त्यसपछिको तुवाँलोका कारण देशका अधिकांश भूभाग धूमिल भएको थियो । जसका कारण वायु प्रदूषण बढेर मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको थियो । वर्षाले प्रदूषण कम गराउँदा वायुको गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको वातावरण विभागले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको आसपास निर्मित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भेगमा आइतबार साँझदेखि वर्षा हुन सुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा हुने छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn