बच्चा कोरल्न म्यानमारदेखि अस्ट्रेलियासम्मका चरा नेपालमा
आफू ओथारो नबस्ने कोइलीका १३ प्रजातिका ग्रीष्म आगन्तुक चरा अहिले नेपालमा बसाइ सरेर अरू चराका गुँडको चियोचर्चो गर्नमा व्यस्त छन् । अन्य चराले गुँड राम्ररी बनाएपछि कोइली प्रजातिका पोथी गएर गुँडमा चलाखीपूर्वक अन्डा पारेर छोड्छन् । कोइली प्रजातिका जस्तै अन्य ग्रीष्म आगन्तुक चरा अहिले बचेरा हुर्काउन नेपाल आएका कान्तिपुर अनलाइनले लेखेको छ । मार्चको सुरुवातमै नीलपुच्छ्रे र कटुसटाउके मुरली चरा चितवन आएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो। धरान हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुगेर गुँड लगाउने ठाउँ खोजिरहेका छन् । स्वर्गचरी पनि पूर्वी नवलपरासीको कावासोतीस्थित सामुदायिक वनमा आइपुगेको उहाँले बताउनुभयो। उनीहरू वन बुट्यान पछ्याउँदै नेपाल भित्रिएका हुन् । ‘गुँड बनाउन ठाउँ हेरिसके,’ चराविद् डीबी चौधरीले भन्नुभयो, ‘झारपात र झिजाझिजी ओसार्न उनीहरूलाई अहिले भ्याइनभ्याइ छ ।’
अहिलेसम्म ५२ भन्दा बढी प्रजातिका चरा नेपाल आइसकेका चराविद्हरू बताउँछन् । ग्रीष्मकालीन पाहुना चरा यता आएर पहिले गुँड लगाउने ठाउँ खोज्छन् । सुरक्षा, खानपान र राम्रो वातावरण भएको ठाउँ रोज्छन् । चराले रूख, नदी, खोलाका किनार, अग्लो आली, टोड्का र खेतबारीमा गुँड लगाउँछन् । वसन्त ऋतु लागेपछि भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, लाओस, मलेसिया र इन्डोनेसियादेखि चरा यहाँ आइपुग्छन् । उनीहरू ४/५ दिनदेखि बढीमा १० दिन लगाएर नेपाल आउँछन् । बच्चा हुर्काएर उनीहरू फेरि फर्कन्छन् ।
अहिले राजचरी, सुन्तले चाँचर, गाजले सुनचरी, ठेउवा र लालचुच्चे ठेउवा लगायतका चरा आइसकेका छन् । कोइलीका आगन्तुक १३ प्रजातिमध्ये अफ्रिकाको सबसाहरन क्षेत्रबाट आउने जुरे कोइली अझै आइसकेको छैन । यो सबैभन्दा ढिलो आउने चरा हो । ‘यस वर्ष मनसुन ढिलो छ । त्यही भएर यो चरा अझै ढिलो आउन सक्छ,’ चराविद् डा. बरालले बताउनुभयो। मध्यअफ्रिकाबाट उठ्ने मनसुन क्लाउड आउने बाटो इथियोपिया, सोमालिया, यमनबाट अरेबियन सागर हुँदै आउने हावामा ठेलिएर बंगालको खाडी हुँदै जुरे कोइली नेपाल आउने उहाँले बताउनुभयो ।