नेपाली

बच्चा कोरल्न म्यानमारदेखि अस्ट्रेलियासम्मका चरा नेपालमा

CRIPublished: 2024-04-20 16:13:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आफू ओथारो नबस्ने कोइलीका १३ प्रजातिका ग्रीष्म आगन्तुक चरा अहिले नेपालमा बसाइ सरेर अरू चराका गुँडको चियोचर्चो गर्नमा व्यस्त छन् । अन्य चराले गुँड राम्ररी बनाएपछि कोइली प्रजातिका पोथी गएर गुँडमा चलाखीपूर्वक अन्डा पारेर छोड्छन् । कोइली प्रजातिका जस्तै अन्य ग्रीष्म आगन्तुक चरा अहिले बचेरा हुर्काउन नेपाल आएका कान्तिपुर अनलाइनले लेखेको छ । मार्चको सुरुवातमै नीलपुच्छ्रे र कटुसटाउके मुरली चरा चितवन आएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो। धरान हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुगेर गुँड लगाउने ठाउँ खोजिरहेका छन् । स्वर्गचरी पनि पूर्वी नवलपरासीको कावासोतीस्थित सामुदायिक वनमा आइपुगेको उहाँले बताउनुभयो। उनीहरू वन बुट्यान पछ्याउँदै नेपाल भित्रिएका हुन् । ‘गुँड बनाउन ठाउँ हेरिसके,’ चराविद् डीबी चौधरीले भन्नुभयो, ‘झारपात र झिजाझिजी ओसार्न उनीहरूलाई अहिले भ्याइनभ्याइ छ ।’

अहिलेसम्म ५२ भन्दा बढी प्रजातिका चरा नेपाल आइसकेका चराविद्हरू बताउँछन् । ग्रीष्मकालीन पाहुना चरा यता आएर पहिले गुँड लगाउने ठाउँ खोज्छन् । सुरक्षा, खानपान र राम्रो वातावरण भएको ठाउँ रोज्छन् । चराले रूख, नदी, खोलाका किनार, अग्लो आली, टोड्का र खेतबारीमा गुँड लगाउँछन् । वसन्त ऋतु लागेपछि भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, लाओस, मलेसिया र इन्डोनेसियादेखि चरा यहाँ आइपुग्छन् । उनीहरू ४/५ दिनदेखि बढीमा १० दिन लगाएर नेपाल आउँछन् । बच्चा हुर्काएर उनीहरू फेरि फर्कन्छन् ।

अहिले राजचरी, सुन्तले चाँचर, गाजले सुनचरी, ठेउवा र लालचुच्चे ठेउवा लगायतका चरा आइसकेका छन् । कोइलीका आगन्तुक १३ प्रजातिमध्ये अफ्रिकाको सबसाहरन क्षेत्रबाट आउने जुरे कोइली अझै आइसकेको छैन । यो सबैभन्दा ढिलो आउने चरा हो । ‘यस वर्ष मनसुन ढिलो छ । त्यही भएर यो चरा अझै ढिलो आउन सक्छ,’ चराविद् डा. बरालले बताउनुभयो। मध्यअफ्रिकाबाट उठ्ने मनसुन क्लाउड आउने बाटो इथियोपिया, सोमालिया, यमनबाट अरेबियन सागर हुँदै आउने हावामा ठेलिएर बंगालको खाडी हुँदै जुरे कोइली नेपाल आउने उहाँले बताउनुभयो ।

‘यस वर्ष मे महिनाको मध्यपछि मनसुन आउने पूर्वानुमान छ,’ उहाँले भन्नुभयो ‘गाजले पिट्टा र चित्रक पिट्टा पनि आइसकेका छैनन् । यी चरा प्रि–मनसुन सुरु हुँदा आउँछन् ।’ प्रि–मनसुनको हावाहुरीसँगै ठेलिएर यी चराहरू यहाँ आइपुग्छन् । यस वर्ष प्रि–मनसुन अप्रिलको अन्ततिर र मे सुरुतिर हुने पूर्वानुमान गरिएको छ । यहाँ करिब ६० प्रजातिका चरा आउँछन् । त्यसमध्ये सबैभन्दा पर अस्ट्रेलियाबाट आउने सेतो कण्ठे गौंथली पनि अझै आएको छैन । यो चराले नेपालमा ‘ब्रिड’ गरेको रेकर्ड छैन । यो मे मध्यतिर आउने बताइएको छ ।

‘वैशाख तेस्रो सातासम्म धेरै चराले गुँड लगाइसक्छन्’ चराविद् टीकाराम गिरीले भन्नुभयो, ‘जेठ अन्तिमसम्म बचेरा हुर्काइसक्छन् ।’ विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा दिन लामो हुने भएकाले बढी समय आहारविहार गर्न पाउने हुँदा चरा यता आकर्षित हुने उहाँले बताउनुभयो ।

बच्चा कोरलेर हुर्काउन सुरक्षित ठाउँ रोजीरोजी पाउने हुँदा यहाँ आउन आकर्षित हुने गरेको उहाँले बताउनुभयो । गुँड बनाउन २ देखि ३ साता लगाउँछन् । दुईदेखि ३ साता ओथारो बस्छन् । दुई/तीन महिनामा बचेरा हुर्काउँछन् । अक्टोबर अन्ततिर फर्कन्छन् । सबै अवस्था राम्रो भयो भने दोस्रो पटक पनि ब्रिड गरेर फर्कने गरेको धेरै पाइएको चराविद् दिनेश गिरीले बताउनुभयो। फर्कंदा बचेरा सँगै फर्कन्छ । ‘नेपाल आएर चराले गुँडका लागि ठाउँ खोजी गरिसके’ नेचर गाइड पवन थापाले भन्नुभयो, ‘छानेको ठाउँमा झारपात बटुलेर राखिसके ।’

जंगलमा नयाँ पालुवा र प्रशस्त चराका चिरबिर सुरु भइसकेका छन् । गाजले, सुनचरी, सुन्तले चाँचर र राजचरीले चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी उपवन क्षेत्रमा गुँड लगाइसकेको उहाँले बताउनुभयो । ग्रीष्म आगन्तुक चरा ९० प्रतिशत बढी तराईदेखि मध्यपहाडी भागसम्म पुग्छन् । यहाँका चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा बच्चा कोरल्न बढी आएका छन् ।

Share this story on

Messenger Pinterest LinkedIn