काठमाडौँ चक्रपथ विस्तारमा चीनले छुट्यायो बजेट, प्रारम्भिक डिजाइन पनि पठायो
चिनियाँ पक्षले कलंकी–महाराजगन्ज चक्रपथ विस्तारको लागि ‘प्रिलिमिनरी डिजाइन’को खाका नेपाललाई पठाएको छ। नेपाल सरकारले ‘साइट क्लियरेन्स’ गर्न थालेको ५ वर्ष पुगिसक्दा बल्ल डिजाइनको खाका आदानप्रदान भएको हो।
चिनियाँ अनुदानमा बन्ने आयोजना लामो समय साइट क्लियरेन्स नभएको भन्दै सुरु नै हुनसकेको थिएन। अहिले चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको बताइएको छ। ‘चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको सुनेका छौँ’, चक्रपथ विस्तार सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले भन्नुभयो, ‘चीनबाट आयोजनालाई गति दिने पत्र पनि आएको छ। जसमा प्रिलिमिनरी डिजाइनको विषय छ।’
उहाँका अनुसार सडकको कुन ठाउँमा पुल, कल्भर्ट हुने विषयमा जानकारीसहितको पत्र पठाइएको छ। चिनियाँ पक्षले विस्तृत परियोजना प्रतिवेदन भने अझै तयार गरेको छैन।
‘अहिले कुन ठाउँमा कस्तो संरचना बनाउने भन्ने विषयमा जानकारी गराएको छ’, ओझाले भन्नुभयो, ‘त्यसमा हामीले जवाफ पठाएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन तयार गर्छ।’
दोस्रो खण्डमा आठ दशमलव दुई किलोमिटर सडक छ। सम्झौता सन् २०१८ मा भए पनि कोभिडलगायत कारण चीनले नै डिजाइन गर्नुपर्ने हुँदा टोली आउन नसकेकाले रोकिएको काम पनि पूरा हुन नसकेको कारण देखाइँदै आएको छ। आठ लेनको सडकमा मुख्य लेन चीनको अनुदानमा चिनियाँ पक्षले नै बनाउनेछ। साइड लेन र ढलको काम नेपालले गर्नुपर्छ। जसको ठेक्का समेत लागिसकेर काम भइरहेको छ।
२०७९ फागुनमा चक्रपथको दोस्रो चरणको विस्तारमा ढिलाइ भएसँगै चिनियाँ राजदूतसहितको टोली निरीक्षणको लागि पुगेको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन्द्र शाह, विद्युत् प्राधिकरणका कुलमान घिसिङलगायतसँगै निरीक्षण गर्नुभएको थियो।