आठ महिनामा नौ खर्ब एकसट्ठी अर्ब नेपाल भित्रियो रेमिट्यान्स
चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढेर फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपियाँ पुगेको छ। जसले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा फागुनमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपियाँ रहेकामा फागुनमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब छ करोड रुपियाँ पुगेको छ।
बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा फागुनमा १८.२ प्रतिशतले वृद्धि भई दुई खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ। फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा फागुनमा विस्तृत मुद्राप्रदाय १४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँ (२२.५ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब ४२ अर्ब एक करोड रुपियाँ (१२.३ प्रतिशत) ले बढेको थियो।
समीक्षा अवधिमा सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.८ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा फागुनमा सञ्चित मुद्रा ७.६ प्रतिशतले बढेको छ।