नेपालबाट वैदेशिक अध्ययनमा सात महिनामा बाहिरियो ६६ अर्ब ६४ करोड
वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष बिदेसिने विद्यार्थीको संख्या पनि धेरै हुने अनुमान छ । गत आर्थिक वर्षमा एक लाख १० हजार विद्यार्थी बिदेसिएका थिए । चालु आर्थिक वर्षको १४ चैतसम्म ८५ हजार पाँच सय विद्यार्थीले एनओसी लिएका छन् ।
चालु आर्थिक वर्षको अझै साढे तीन महिना अवधि बाँकी रहेकाले गत वर्षभन्दा यस आर्थिक वर्षमा बढीले एनओसी लिने एनओसी कार्यालयको अनुमान छ । कार्यालयका प्रमुख वासुदेव वस्तीका अनुसार यस आर्थिक वर्षमा सबैभन्दा बढी विद्यार्थी जापान गएका छन् ।
जहाँका लागि ३५ हजार विद्यार्थीले एनओसी लिएका छन् । त्यसपछि अस्ट्रेलिया, क्यानडा, युएसएलगायत देशका लागि एनओसी लिने विद्यार्थीको संख्या बढी देखिन्छ । ‘गत वर्षको भन्दा यस वर्ष एनओसी लिनेको संख्या बढी हुने देखिन्छ,’ कार्यालय प्रमुख वस्तीले भन्नुभयो, ‘यस वर्ष जापान जाने विद्यार्थीको संख्या अत्यधिक छ ।’