नेपालबाट निर्यात धेरै भएका पाँच वस्तुमा अधिकांश औद्योगिक उत्पादन
निकासी हुने वस्तुको सूचीमा १८ औं स्थानमा रहे पनि नेपाली सिमेन्टको बजार आशालाग्दो ढंगले बढेको छ। मुलुकमा निर्माणजन्य गतिविधि नहुँदा यससँग सम्बन्धित उद्योग पनि शिथिल बनेका छन्। सिमेन्ट, डन्डी, इँटाजस्ता निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु क्षमताको ५० प्रतिशत पनि सञ्चालन हुन नसकिरहेका बेला केही उद्योगले भने भारत निर्यातबाट राम्रै आम्दानी पनि गर्न थालेका छन्। निर्यातका कारण एकातिर उद्योग सञ्चालन भइरहने र अर्कोतर्फ निर्यातबापत नगद अनुदानसमेत प्राप्त गर्ने भएकाले उद्योगहरु दोहोरो फाइदामा छन्।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा गत आवभन्दा करिब १६८ प्रतिशत बढी सिमेन्ट भारत निकासी भएको छ। गत आवको माघसम्म ७७ करोड ९३ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर भारत निर्यात गरिएकोमा यो वर्ष सात महिनामा दुई अर्ब ६ करोड रुपैयाँको २१ लाख ४७ हजार टनभन्दा बढी सिमेन्ट र क्लिंकर भारतीय सीमावर्ती बजारमा निर्यात भएको छ। नेपालबाट पाल्पा, अर्घाखाँची र बालाजी सिमेन्टले आफ्नो उत्पादन भारतमा बिक्री गर्दै आएका छन्। वैदेशिक व्यापारमा असन्तुलनको अवस्थालाई थोरै हदसम्म भए पनि ढाडस दिन यी उद्योगले भूमिका खेलेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा आन्तरिक बजार सुस्त भएका बेला निर्यातमा सुधार देखिनु सकारात्मक भए पनि सबै उद्योग निकासीका लागि सक्षम भइनसकेको बताउनुहुन्छ। ‘केही उद्योगले निकासी गरिरहेका छन्, जुन राम्रै हो। आन्तरिक बजारमा विकास निर्माणका गतिविधि ठप्प हुँदा निर्माणजन्य सबै उद्योगहरु संकटमा रहेकाले माग बढाउने कार्यक्रम जरुरी छ। निर्यातले मात्र उद्योगको संकट टार्न सक्दैन,’ थापाले भन्नुभयो।
उहाँका अनुसार केही वर्ष अघिसम्म सिमेन्ट र क्लिंकरमा परनिर्भर नेपालले अहिले निर्यातबाट पनि आम्दानी गर्न थाल्नु सरकारी नीति र व्यवसायीको सत्प्रयासको तालमेलले मात्र सम्भव भएको हो। २०७९ साउनदेखि नेपालले सिमेन्ट भारतीय बजारमा निर्यात गर्न थालेको हो। सरकारले सिमेन्ट निर्यात गर्ने उद्योगीलाई ८ प्रतिशत नगद अनुदान दिँदै आएको छ भने विद्युत खपतका आधारमा महशुल छुट पनि दिइरहेको छ। भारतीय सीमावर्ती क्षेत्रमा नेपालमा उत्पादित सिमेन्टको माग बढ्दै गइरहेको उद्योगीहरु बताउँछन्। यद्यपी, निर्यात अनुदानको प्रक्रियागत व्यवस्थालाई सहज बनाउनुपर्र्ने उनीहरुको सुझाव छ।