सिमेन्टको आन्तरिक खपत घट्दो तर निर्यात बढ्नाले उद्योगीलाई राहत
आन्तरिक खपत कम भए पनि तिहारलगत्तै अब निर्माणको सिजन सुरु भएकाले निर्यात अझै बढ्ने व्यवसायी बताउँछन्। सीएनआई अध्यक्ष अग्रवालले सिमेन्ट उद्योगीले चालु आर्थिक वर्षमा ५ अर्ब बढीको सिमेन्ट तथा क्लिङ्कर निर्यात गर्ने बताउनुभयो। नेपाली उद्योगीले उत्तर प्रदेश, बिहारमा सिमेन्ट पठाइरहेका छन्।
नेपालखबर अनलाइनका अनुसार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सिमेन्ट उद्योगलाई अनुदान दिने निर्णय गरेसँगै सिमेन्ट निर्यात सुरु भए पनि उद्योगीले अनुदान नै नपाएको बताएका छन्। सीमित उद्योगले मात्रै भारतमा सिमेन्ट निर्यात गरेका छन्। अर्घाखाँची सिमेन्ट, तानसेन सिमेन्ट, बालाजीको बहुबली र श्रृष्टि ब्रान्डका सिमेन्ट निर्यात भैरहेका छन्। गत आर्थिक वर्षमा ७७ करोड बढीको सिमेन्ट तथा क्लिङ्कर निर्यातको अनुदान उद्योगीले नपाएको मुरारकाले बताउनुभयो। सरकारले सिमेन्ट निर्यात सम्बन्धी कार्यविधिले ५० करोड रुपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशतसम्म नगद अनुदान दिन सकिने व्यवस्था गरेको छ। ३० प्रतिशत भ्यालु एड गरी ५० करोड बढी निर्यात गर्नेलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ।
५० करोडभन्दा कम निर्यात गर्नेले कुल निर्यातको ४ प्रतिशतले हुन आउने रकम अनुदान पाउनेछन्। क्लिंकर, सिमेन्ट, स्टिल, कत्था, रोजिन तथा तार्पेन, प्लाइउड लगायतका वस्तुको उत्पादनमा कम्तीमा ३० प्रतिशत भ्यालुएड भएका वस्तुले नगद अनुदान पाउने व्यवस्था छ।
सिमेन्ट उद्योगले १ वर्षअघि निर्यात गरेको परिमाणभन्दा २० प्रतिशतले बढी निर्यात गरेमा १ प्रतिशत रकम थप अनुदान दिने व्यवस्था कार्यविधिमा छ। केही सिमेन्ट उद्योगीले कार्यविधिमा ५० करोड राख्दा साना उद्योगले फाइदा लिन नसकेको बताएका छन्।
‘८ प्रतिशत नगद अनुदान पाउनको लागि ५० करोड बढीकै निर्यात गर्नु पर्ने भयो,’ एक उद्योगी भन्छन्, ‘५० करोड कम निर्यात गर्नेले ४ प्रतिशत मात्रै नगद अनुदान पाउने भए।’
भारतीय सीमानजिकै रहेका साना सिमेन्ट उद्योगले १५–२० करोडको निर्यात गर्न सके पनि सरकारलाई फाइदै हुने व्यवसायी बताउँछन्।
सिमेन्ट उत्पादक संघले वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँको सिमेन्ट भारतमा निर्यात गर्न सक्ने दाबी गर्दै आएको छ। नेपालमा हाल ५ दर्जनभन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन्। २ खर्बभन्दा बढी रकम लगानी भएको छ। नेपालमा वार्षिक ९० देखि ९५ लाख टन सिमेन्ट खपत हुने गरेको छ। नेपाली उद्योगीले भारतको सीमावर्ती क्षेत्रका १०० किलोमिटर परसम्म सिमेन्ट निर्यात गर्न सकिने बताउँदै आएका छन्।