खुनमिङबाट गएका चिनियाँ खेलाडीसँगै पोखरामा नेपाल माउण्टेन क्रस क्रन्ट्री दौड, नेपाल-चीन मित्रतालाई थप प्रगाढ बनाउने अपेक्षा
पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड शनिबार बिहान आयोजना गरिएको छ। पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन सङले सुरुआत गर्नुभएको थियो।
प्रतियोगितामा सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरी चार विधामा प्रतिस्पर्धा भएको छ। सामूहिक प्रतिस्पर्धामा ४२ जना, व्यक्तिगत प्रतिस्पर्धामा ७६ र विद्यार्थी दौडमा चार सय ३० भन्दाबढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चीनको खुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टर विमानमार्फत पोखरा पुगे। चिनियाँ राजदूत छन सङले प्रतियोगिताले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो। अन्नपूर्ण र फेवाताल किनारको यो दौडले नेपाल र चीनको मित्रतालाई थप प्रगाढ बनाउने उहाँको अपेक्षा छ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताले पोखरालाई देशविदेशमा चिनाउन र खेल पर्यटनको विकासमा समेत सघाउने विश्वास व्यक्त गर्नुभयो।
“यस प्रकारको दौड प्रतियोगिताले खेल र पर्यटन क्षेत्रको विकासमा उत्तिकै योगदान पुग्नेछ। कोरला नाका खुलेको छ, अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,” उहाँ भन्नुहुन्छ, “यस खालका गतिविधिले पोखराको प्रवद्र्धन र खेलकुद विकास दुवै क्षेत्रमा टेवा पुग्छ ।”
दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । सामूहिक विधातर्फको विजेताले तीन लाख ६० हजार रुपियाँ पुरस्कार पाउनेछन् । द्वितीयले दुई लाख ८८ हजार, तृतीयले दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले १ लाख ४४ हजार रुपियाँ पुरस्कार पाउने आयोकजले जनाएको छ ।