कोरला नाका खुलेपछि मुस्ताङीको दैनिकी सहज बन्दै
तिब्बती बजारबाट घरमा सजाउन प्रयोग हुने साम्रगी र पस्मिनाबाट बनेका सामानहरू खरिद गरेको नेकपा (माओवादी केन्द्र) का नेता ङुटुक गुरुङले बताउनुभयो। तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङमा निर्माणधीन अवस्थामा रहेको घरमा बस्नका लागि प्रयोग हुने गलैंचासमेत तिब्वती बजारबाट ल्याएका गुरुङले केही महिना तिब्बततर्फ निर्यातभन्दा आयात बढी हुने बताउनुभयो। कोरला नाकाबाट मुस्ताङका पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने सहमति भएको थियो। सहमति भए पनि अहिले परिचय पत्र पाएका उपल्लो मुस्ताङका करिब एक हजार जनाले मात्रै नियमित सामान खरिद बिक्री गर्न पाएका छन्।
विगतका वर्षमा दुई पटक हुने व्यापार मेला २०७६ सालको भदौदेखि दलाई लामा समर्थकको घुसपैठ लगायत सुरक्षा तथा विविध कारण देखाउँदै दोस्रो अन्तरदेशीय व्यापार मेला स्थगित गरेपछि उपल्लो मुस्ताङीलाई निकै समस्या भएको थियो।
यसैबीच चिनियाँ पक्षले नाकामा धमाधम पूर्वाधार थपिरहेको अवस्थामा नेपालतर्फ भने पूर्वाधार नै नहुँदा समस्या भएको छ। चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले भने बोर्डर आउटरिच पोस्ट (बिओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा राखेको छ।
कोरला २४ नम्बर पिलर आसपासमा नेपाली पक्षबाट भौतिक पूर्वाधार बनाउन ढिलाइ भएपछि चिनियाँ पक्षले नै पूर्वाधार बनाउन चासो देखाएको छ। चिनियाँ टोलीले नाकामा पर्ने नेपाली भूभागमा आवश्यक संरचना बनाउन प्राविधिकसहितको टोली पठाएको थियो।