वित्तीय व्यवस्थापन सुधार्न एडीबीद्वारा नेपाललाई १० करोड डलर ऋण
एडीबीले नेपाललाई खर्च र ऋण व्यवस्थापन सुधार गर्न सहयोग गर्दै आएको छ। यसलाई समर्थन गर्ने नीति सुधार कार्यहरूमा वित्तीय नीति विवरणको संस्थागतीकरण, ऋण व्यवस्थापनका लागि कानुनी रूपरेखा र रणनीतिको स्वीकृति, सार्वजनिक उद्यम सुधार, ठेक्का व्यवस्थापनसहित विद्युतीय सरकारी खरिद, तीन तहको सरकारमा खर्च रेकर्डिङ र रिपोर्टिङको डिजिटलीकरण समावेश गर्छ। सो कार्यक्रममा वित्तीय जोखिम र रणनीति प्रतिवेदनको स्वीकृति र त्यसको सञ्चालन, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन हुने विश्वास लिएको छ।
यसैगरी एडीबीको सार्वजनिक व्यवस्थापन विशेषज्ञ रचना श्रेष्ठ एडीबीको यो कार्यक्रमले सन् २०१५ को संविधानमा उल्लेखित वित्तीय संघीयतालाई सुदृढ गर्नका लागि हस्तान्तरण गरिएका सार्वजनिक सेवाहरूको संस्थागत र सञ्चालनमा सहयोग गर्ने बताउनुहुन्छ। श्रेष्ठ भन्नुहुन्छ, ‘स्थानीय सुशासनलाई सुदृढ गर्न र सुदृढ सेवाहरू प्रदान गर्न, सरकारहरूको स्रोत उत्पादन क्षमताहरू सुधार गर्ने उद्देश्यले नीति सुधारहरूलाई बलियो बनाउनेछ।’
यस्तै, यसले नगरपालिकाहरूलाई सम्पत्ति करको दरलाई परिमार्जन र अध्यावधिक गर्न राजस्व वृद्धि गर्न, लैंगिक र जलवायु उत्तरदायी मध्यकालीन खर्च ढाँचा लागू गर्न र सार्वजनिक लगानी व्यवस्थापनमा सुधार गर्न मद्दत गर्नेछ। यसले सूचना प्रविधिमा आधारित नमुना करदाता दर्ता प्रणाली र सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीको विकास गर्ने बताइएको छ।