वित्तीय व्यवस्थापन सुधार्न एडीबीद्वारा नेपाललाई १० करोड डलर ऋण
नेपाल सरकारको वित्तीय व्यवस्थापन सुदृढ र विकेन्द्रीकरण प्रवद्र्धन गर्न एसियाली विकास बैंक (एडीबी)ले १० करोड डलर सहुलियतपूर्ण ऋण दिने भएको छ। फिलिपिन्सको मनिलास्थित प्रधान कार्यालयले शुक्रबार नेपालमा उक्त प्रयोजनका लागि सहुलियत ऋण दिन स्विकृत गरेको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। नेपाललाई प्राप्त हुने उक्त ऋण नेपाल राष्ट्र बैंकमा उल्लेख भएको विदेशी विनिमय अमेरिकी बिक्रीदरप्रति अमेरिकी डलर १३२.६५ अनुसार १३ अर्ब २६ करोड ५० लाख नेपाली रुपैयाँ हुन आउँछ।
उक्त सहुलियत कर्जाका साथै एडीबीले नीतिगत कार्यहरूको कार्यान्वयन र संस्थागत सुदृढीकरणमा सहयोग गर्न प्राविधिक सहायता विशेष कोषबाट थप १५ लाख अमेरिकी डलर प्राविधिक सहायता अनुदान उपलब्ध गराउने योजना रहेको समेत जानकारी दिएको छ। यसले अहिलेको कार्यक्रमपछिको साझेदारी ढाँचाको कार्यान्वयनमा पनि सहयोग गर्ने एडीबीले बताएको छ।
एडीबीका अनुसार सुदृढीकरण सार्वजनिक वित्तीय व्यवस्थापन र विकसित सेवा वितरण कार्यक्रमले संघीय स्तरमा खर्च र ऋण व्यवस्थापन र उपराष्ट्रिय स्तरमा स्रोत योजना र व्यवस्थापनसम्बन्धी महत्वपूर्ण सुधारहरूमार्फत सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरण गर्ने अपेक्षा राखिएको छ। कार्यक्रमपछिको साझेदारी ढाँचाले सन् २०२५ पछिका सुधारहरूको दिगोपनलाई मार्गदर्शन गर्न मद्दत गर्ने एडीबीले बताएको छ। यसैक्रममा एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटा एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न सार्वजनिक उद्यमहरूलाई सुधार गर्न, वित्तीय पारदर्शिता कायम राख्ने बताउनुहुन्छ। यससँगै अर्थशास्त्री सापकोटा भन्नुहुन्छ, ‘यसले दक्षता अभिवृद्धि गर्न डिजिटलाइजेसन, विकास वित्तीय संस्थाहरूबाट थप स्रोतहरू लिन र जलवायु–उत्तरदायी कार्यान्वयन गर्न सुधार गर्नेछ। साथै उपराष्ट्रिय स्तरमा मध्यकालीन खर्चको ढाँचा तयार पार्न सहयोग गर्छ।’