दशैंमा डिजिटल दक्षिणा दिने नेपाली बैंकरको योजना
नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो। आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ। आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्रचलन छ। राष्ट्र बैंकका अनुसार दशैंको समयमा साना र ठूला दरका गरि ५० अर्ब भन्दा बढीको नोट सर्कुलेसन भएको छ। यसले पनि दशैंमा पैसाको प्रयोग कति हुने गर्छ भन्ने प्रष्ट हुन्छ। जसमध्ये पनि साना दरका मात्रै १३ अर्ब भन्दा बढी नोट साटिएको राष्ट्र बैंकको तथ्यांक रहेको अनलाइन खबरले लेखेको छ।
बैंकको व्यवस्थापकीय नेतृत्व गर्ने बैंकरले भने दशैंलाई कसरी मनाउँछन् र कति दक्षिणा, कसरी दिन्छन् भन्ने आम चासो पनि हुन्छ। नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीका अनुसार उहाँले दशैंमा नगद दक्षिणा दिनुहुन्न। उहाँले डिजिटल बैंकिङ सुरु भएदेखि नै नगद रहित कारोबारलाई प्राथमिकतामा राख्दै आउनु भएको छ।
उहाँले यस पटकको दशैंमा पनि सम्भव भएसम्म डिजिटल दक्षिणा नै प्रयोग गर्ने बताउनुभयो। ‘हामी आफैं डिजिटल दक्षिणालाई प्रोत्साहन गरिरहेका छौं, घरमा पनि दशैंमा डिजिटल दक्षिणा नै दिने योजना छ। हामीले नै डिजिटल दक्षिणालाई थप प्रोत्साहन गर्नुपर्छ,’ उहाँले भन्नुभयो। डिजिटल दक्षिणा सुरक्षित पनि हुने भएकाले सबैले यसलाई नै प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ।
काठमाडौंमा नै दशैं मनाउने योजनामा रहेका केसीले कुनै विशेष योजना भने नरहेको सुनाउनुभयो। ‘यसपटक दशैंमा अलि लामो बिदा छ। अन्य बेला सधैं व्यस्त हुने भएकाले यसपटकको दशैं परिवारसँगै बिताउने योजनामा छु,’ उहाँले भन्नुभयो।
विगतमा जस्तो दशैंमा नै खर्च गर्नुपर्छ भन्ने सोच कम हुँदै गएको उनको अनुभव छ। दशैंमा केही बढी खर्च हुनु स्वाभाविक भएपनि नियमित जस्तै खर्च हुने उहाँले बताउनुभयो। दशैंमा पारिवारसँगै रहने भएकाले कुनै अतिरिक्त खर्च नरहेको उहाँको भनाइ छ।