जनताको खुशी नै सबैभन्दा ठूलो मानव अधिकार
२५ वर्षीय किमेई दोर्जे तिब्बत स्वायत्त प्रदेशको नाछ्यु शहर नजिकको गरिबी निवारण गर्ने केन्द्रीकृत पुनर्वास समुदायमा बस्नुहुन्छ। त्यहाँ विभिन्न भवनहरू व्यवस्थित छन्। सन् २०१९ देखि नाकुसेनी जिल्लाका १२ वटा गाउँबाट ४५५ गरिब परिवारलाई त्यहाँ सारिएको हो।
“मेरो जन्मथलो १०० किलोमिटरभन्दा टाढा पर्ने गुओजिया गाउँ हो। त्यहाँ थोरै मान्छे बस्छन्। त्यहाँ यातायातको उति सुविधा छैन। घर पनि निकै कमजोर छ।” किमेई दोर्जेले भन्नुभयो। उहाँका अनुसार, अहिले बस्ने १२० वर्ग मिटर एकाई सरकारद्वारा नि: शुल्क उपलब्ध गराइएको हो। हिजोआज किमेई दोर्जे समुदायमा काम गर्नुहुन्छ। उहाँका भाइ ल्हासामा काम गर्नुहुन्छ र उहाँकी जेठी बहिनीले भर्खरै बच्चालाई जन्म दिनुभएको छ। उहाँको कान्छो भाइ र बहिनी अझै पनि विद्यालयमा पढ्छन्। हामीलाई यति राम्रो घरमा बस्न र अझ राम्रो जीवन उपलब्ध गराएकामा पार्टी र सरकारलाई आभार व्यक्त गर्न चाहेको उहाँले व्यक्त गर्नुभयो।
थाहा भएअनुसार, सन् १९५१ मा तिब्बतको जीडीपी १२ करोड ९० लाख युआन मात्र थियो भने सन् २०२० मा १ खर्ब ९० अर्ब युआन नाघेको छ। साथै तिब्बतले ऐतिहासिक रूपमा सहस्राब्दीको निरपेक्ष गरिबीलाई हटाएको छ। सन् २०१९ मा समस्त क्षेत्रमा ६ लाख २८ हजार दर्ता गरिबलाई गरिबीबाट मुक्त गरिएको थियो भने ७४ वटा गरीब काउन्टी (जिल्ला) गरिबीबाट बाहिर ल्याइएको थियो।
तिब्बतको शान्तिपूर्ण मुक्तिपछि राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिका विभिन्न पक्षमा ठूलो परिवर्तन भएका छन्। केही दशकमा मात्रै हजार वर्षको फड्को मार्ने विकास तिब्बतमा भएको छ। हाल तिब्बतको समग्र सामाजिक अवस्था अझ स्थिर छ। अर्थतन्त्र र संस्कृति अझ समृद्ध छ, पारिस्थितिक वातावरण राम्रो छ, र जनताको जीवन अझ सुखमय छ।