नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी र फ्रान्सका राष्ट्रपति म्याक्रोनबीच टेलिफोन वार्ता

criPublished: 2023-11-20 19:41:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २० तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच टेलिफोन वार्ता भएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभयो, ‘सन् २०२४ मा दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइने छ र दुवै पक्षले चीन-फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्छ।’

फ्रान्ससँगको उच्चस्तरीय आदानप्रदानलाई कायम गर्ने, आपसी उच्चस्तरीय सांस्कृतिक तथा मानवीय आदानप्रदान संयन्त्रको नयाँ बैठक राम्रोसँग आयोजना गर्ने, शैक्षिक, सांस्कृतिक र वैज्ञानिक अनुसन्धान सहकार्यमा नयाँ प्रगति हासिल गर्ने र दुई देशका जनताबीच मैत्रीपूर्ण आदानप्रदानलाई अघि बढाउने इच्छा चीनले लिएको पनि सीले व्यक्त गर्नुभयो।

संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय संस्थाहरूमा फ्रान्ससँगको सहयोगलाई सुदृढ गर्ने आशा पनि चीनले लिएको भन्दै सीले यस वर्ष चीन-यूरोपेली संघ बीचको व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको २० औं वार्षिकोत्सव भएको र फ्रान्सले चीन-ईयू सम्बन्धको सकारात्मक विकासलाई बढाउन रचनात्मक भूमिका खेल्ने आशा लिएको पनि उल्लेख गर्नुभयो।

टेलिफोनमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा फ्रान्स र चीनले पारस्परिक रणनीतिक संवाद र सहयोगलाई कायम गर्नु निकै महत्वपूर्ण रहेको भन्दै चीनसँगको कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको मौका पारी आगामी वर्ष चीनसँगको उच्चस्तरीय आदानप्रदानलाई सुदृढ पार्न र अर्थतन्त्र, व्यापार, उड्डयन र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रहरूमा हुने आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन फ्रान्स इच्छुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘फ्रान्सले दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा चीनसँग घनिष्ठ सम्पर्क कायम राख्दै जलवायु परिवर्तन र जैविक विविधता संरक्षण जस्ता विश्वव्यापी विषयहरूमा सहकार्य गर्दै जाने आशा पनि गरेको छ। फ्रान्सले पारस्परिक सम्मान र लाभकारी सहयोगको भावनामा युरोपेली संघ र चीन बीचको व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई प्रवर्द्धन गर्ने इच्छा पनि गरेको छ।’

टेलिफोन वार्तामा दुवै देशका राष्ट्रनायकहरूले प्यालेस्टाइन–इजरायल द्वन्द्वबारे पनि वैचारिक आदानप्रदान गर्नुभएको छ। दुवै पक्ष साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा सम्पर्क कायम राख्दै विश्व शान्ति र स्थिरताको संरक्षणमा योगदान दिन सहमत भएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn