नेपाली

#अल्पसंख्यक जाति# चीनका अल्पसंख्यक जातीयहरू वसन्त चाड मनाउँदै

criPublished: 2022-02-01 19:03:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आज चिनियाँहरूका लागि सबैभन्दा ठूलो पर्व—वसन्त चाडको पहिलो दिन। यो दिन वसन्त चाडको ज्यादै महत्वपूर्ण दिन हो। हामी सबैजना नयाँ लुगा लगाएर पाहुनाहरुलाई स्वागत गर्न वा अरु नाता-कुटुम्ब, इष्ट-मित्र र असल छिमेकीहरुलाई शुभकामना दिनजाने गर्दछौँ। भेटका बेला एक-अर्कालाई सुख, शान्ति र सुस्वास्थ्यको मंगलमय कामना गर्ने गर्दछौँ।

चीन बहुजातीय देश हो। हरेक जातिसँग आ-आफ्ना विशेष तथा महत्वपूर्ण चाडबाड छन्। तर केही अल्पसंख्यक जातिहरू पनि वसन्त चाड मनाउँछन्। गत साताको कार्यक्रममा मैले यी, च्वाङ, तावर र पाइ जातिका सर्वसाधारणले वसन्त चाड मनाउने विशेष रीतिरिवाजको बारेमा जानकारी दिएकी थिएँ। आजको कार्यक्रममा म निरन्तर रूपमा चर्चा गर्छु।

याउ जाति

क्वाङ तुङ, क्वाङ सी र हु नान प्रान्तमा बस्ने याउ जातिले पनि वसन्त चाड मनाउँछ। सो अवसरमा उनीहरूले “खेती ओपेरा” नामक कार्यक्रम गर्छन्। नयाँ वर्षको पहिलो दिनमा युवतीहरूले सुन्दर लुगा लगाउनुका साथै युवकहरूले समेत चाँदीको गहना लगाउँछन्। उनीहरू एउटा ठाउँमा भेला भएर हरेक तीनजनाको एक टोली बनाउँछन्, तीनजनामध्ये एकजना गोरू जस्तो बन्छन् र अर्को हलो अनि बाकी एकजनाले खेत जोतेजस्तै गर्छन्। याउ जातीयहरूको यस्तो खेती ओपेराको प्रदर्शनबाट वसन्त खेतीको स्वागत गर्नुका साथै प्रचुर बाली भित्र्याउने कामना गर्दछन्।

हानी जाति

हानी जातीयहरू मुख्यतः युननान प्रान्तमा बस्दछन्। वसन्त चाडअघि हानि जातीय महिलाहरूले टाँसिने चामलबाट बनाइएको पिठोमार्फत् रोटी बनाउँदछन्। युवायुवतीहरूले बाँस काटेर पिङको निर्माण गर्दछन्। नयाँ वर्षको पहिलो दिनमा पुरूष होस् वा महिला, ठूलो होस् या बच्चा सबैजना आफूलाई मनपर्ने लुगा लगाएर सामूहिक रूपमा पिङ प्रतियोगिता खेल्दछन्। पिङ खेल्ने कार्यक्रममा युवाहरूले प्रेमी-प्रेमिका पनि खोज्नसक्छन्।

तोङ जाति

क्वी चौ, हुनानलगायत क्षेत्र तोङ जातीयहरूको मुख्य बसोबास क्षेत्र हो। वसन्त चाडको अवसरमा तोङ जातीयहरूले हान जातिजस्तै सामूहिक भेला गर्छन्। सामान्यतया दुई गाउँले सल्लाह गरेर संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्ने गर्दछन्। दुई गाउँका गाउँलेहरूले चोकमा नाच-गान प्रतियोगिता गर्छन्। सो अवधिमा मान्छेहरूले सङ्गीतका साथसाथै रमाइलो रूपमा नाचेर महोत्सव मनाउँछन्।

पुयी जाति

दक्षिण-पश्चिमी चीनमा बस्ने पुयी जातीयहरूले पूरानो वर्षको अन्तिम राति पोखरीनजिकै बसेर नयाँ वर्षलाई पर्खछन्। पहिलो दिन बिहान सबेरै युवतीहरूले प्रतिस्पर्धा गर्दै पानी ल्याउँछन्। जसले सबैभन्दा अगाडि एक बाल्टिन पानी ल्याउँछ उनी नै सबैभन्दा परिश्रमी तथा सुखमय युवती हुनेछ। पहिलो दिनमा युवाहरू एकअर्काको घर गएर शुभकामना दिनुका साथै बाहिर घुम्ने गर्दछन्।

थुच्या जाति

वसन्त चाडको अवसरमा थुच्या जातीयहरूले पाइशौ नामक नाच कार्यक्रमको भव्य रूपमा आयोजना गर्दछन्। लोकप्रिय पाइशौ नाच थुच्या जातिको प्राचीन नाच हो। त्यसमा शिकार, सैन्य, कृषि, भोजनलगायत ७० भन्दा बढी नृत्य चालहरू समेटिएका छन्। त्यस नाचबाट स्पष्ट रूपमा थुच्या जातीय विशेषता र जीवन देख्नसकिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn