उत्तर कोरियासँगको परम्परागत मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धमा चीनद्वारा महत्व
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अगस्ट १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र उत्तर कोरियाबीचको परम्परागत मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धमा चीनले महत्व दिइरहेको र चीनको अडानमा कुनै परिवर्तन नभएको बताउनुभएको छ।
प्राप्त रिपोर्ट अनुसार, उत्तर कोरियाले हालै कोरियाली युद्धको युद्धविराम भएको ७१ औं वर्षगाँठको उपलक्ष्यमा स्मृति कार्यक्रम आयोजना गर्यो। उत्तर कोरियाका लागि रुस, भियतनाम, क्युबा लगायतका देशहरुका राजदूतहरू उपस्थित हुनुभयो। तर उत्तर कोरियाका लागि चिनियाँ राजदूतलाई देखेनन्। यो चीन-उत्तर कोरिया सम्बन्धमा देखिएको समस्याको अर्को अभिव्यक्ति हो र चीन र रुसले उत्तर कोरियासँगको सम्बन्धमा प्रतिस्पर्धा गरिरहेका कुरा केही जनमतले जनाएको छ ।
यसबारे चर्चा गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले भन्नुभयो, "अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा ठूलो परिवर्तन आए पनि चीन र उत्तर कोरियाबीचको परम्परागत मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धमा चीनले महत्व दिँदै आइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको निरन्तर अडानमा परिवर्तन आएको छैन। पछिल्लो समय केही देश र सञ्चार माध्यमले चीन-उत्तर कोरिया सम्बन्धमा समस्या रहेको भन्दै चीन र रुसले उत्तर कोरियाको सम्बन्धमा प्रतिस्पर्धा गरिरहेका छन् भन्ने गलत तर्कलाई समय-समयमा हल्लाइरहेका छन् । म जोड दिन चाहन्छु कि उत्तर कोरिया र रुस दुवै चीनका मित्रवत छिमेकी हुन्। उत्तर कोरिया र रुसबीचको सम्बन्धको विकास भएको र क्षेत्रीय शान्ति तथा स्थिरता कायम गर्न रचनात्मक भूमिका निर्वाह गरेको देखेर चीन खुसी छ।”