खेर गएको विद्युत् प्राधिकरणले किन्ने
उपभोक्ताले सञ्चालन गर्दै आएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। उपभोक्ताको लगानीमा १० वर्षअघिदेखि सञ्चालित लघु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। उपभोक्ताले करोडौँ लगानी गरेर उत्पादन गरेको विद्युत् शक्ति राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि उपभोक्ता खुसी भएका छन्। हाल ६८ किलोवाट विद्युत् उत्पादन भइरहेको छ। खेर गएको विद्युत् सम्झौता अनुसार विद्युत् प्राधिकरणले खरिद गरेको गोरखापत्र अनलाइनले लेखेको छ।
यहाँका उपभोक्ताले हिउँद र बर्सातमा करिब ३५ किलोवाट मात्र प्रयोग गर्दै आएका छन्। बाँकी ३५ किलोवाट विद्युत् खेर गइरहेको अवस्थामा राष्ट्रिय प्रसारण लाइनमा जडान भएपछि उपभोक्तालाई फाइदा हुने समितिका अध्यक्ष वीरबहादुर बाह्रघरेले बताउनुभयो।
उहाँका अनुसार बर्सातमा चार रुपियाँ ८० पैसा र हिउँदमा आठ रुपियाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने सम्झौता भएको छ। यो सम्झौतासँगै उपभोक्ता, तत्कालीन जिविसको करोडौँ लगानी डुब्नबाट जोगिएको प्रतिनिधि सभाका सदस्य नारायण आचार्यले बताउनुभयो।
१० वर्षअघि माथागढी गाउँपालिकाको वडा नं. ५ र ६ का ५१७ घरधुरी उपभोक्ताले लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए। पछिल्लो समय आयोजना स्थलमा बाढीपहिरो जस्ता घटनाले क्षति पुर्याएपछि मर्मत सुधार गर्दा उपभोक्ता हैरान भएका थिए। प्राधिकरणले विद्युत् खरिद गरेपछि वार्षिक १५/२० लाख रुपियाँ उपभोक्ताको बचत हुने संस्थाका पूर्वसचिव खेमान सारूले बताउनुभयो।