प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यापारी एलन मस्कबीच शुक्रबार साँझ भर्चुअल संवाद भएको छ। संवादका क्रममा प्रधानमन्त्री ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गराउन सफल भएकामा मस्कलाई बधाई दिनुभयो।
एलनले खुलेआम ट्रम्पका पक्षमा चुनावी अभियान चलाएकोप्रति ट्रम्पले पनि मस्कलाई डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सीको प्रमुख नियुक्त गर्ने घोषणा गर्नुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, कुराकानीका क्रममा मस्कले आफ्नो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा स्टारलिंकका बारेमा जानकारी दिनुभयो।
मस्कको कम्पनी स्टारलिंकले विश्वमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा दिँदै आएको छ। नेपालमा पनि स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्न चाहिरहेको छ।
केही महिनाअघि मात्र स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डाइरेक्टर रेबेका हन्टरसहितको टोली नेपाल आएको थियो। टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरेको थियो।
सञ्चारमन्त्री गुरुङले अमेरिकी राजदूत र स्टारलिंककी निर्देशकले आफूसँग भदौमा भेटेर नेपालमा काम गर्ने चाहना राखेको सञ्चारमाध्यमहरुसँग बताइसकेका छन्। यसबारे छलफल गर्ने र निर्णयबारे अवगत गराउने मन्त्री गुरुङले बताउनुभएको छ। सोही कारण ओली र मस्कबीचको भर्चुअल संवादलाई अर्थपूर्ण मानिएको छ। ओलीले मस्कबाट स्टारलिंक सम्बन्धी कुरा सुनेपनि औपचारिक प्रतिक्रिया नदिएएको सचिवालयले जनाएको छ।
मस्कको स्टारलिंक छिमेकी भारतमा समेत अनुमति पाउने चरणमा रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। इन्डिया टुडेका अनुसार भारतीय सुरक्षा प्रावधानहरु मान्न स्टारलिंक तयार भइसकेको छ। खासगरी सरकारी डेटा स्थानीयकरण र आवश्यक सुरक्षाका उपाय अपनाउन स्टारलिंक तयार भइसकेको छ।