चिनियाँ समेत संलग्न १३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
मनाङ–मर्स्याङदी जलविद्युत कम्पनी प्रालिद्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणका लागि गत असोज ६ मा चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो ।
आयोजनाको वित्तीय व्यवस्थापनको काम सकिएसँगै निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ ।
‘कर्जा सम्झौताअनुसार बैंकले १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर बराबर ऋण लगानी गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ ।
यस आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर छ ।
कम्पनीमा बुटवल पावर कम्पनी लिमिटेड, चिनियाँ लगानीकर्ता— एसीआईजी इन्टरनेसनल लिमिटेड, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसी इन्टरनेसनल कम्पनी लिमिटेड र उक्त कम्पनीको संयुक्त लगानीको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेस्टमेन्ट कम्पनी प्रालिको संयुक्त लगानी रहेको जनाइएको छ ।
कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको लगानी र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहने विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आयोजनास्थल आसपासका स्थानीयलाई प्रचलित कानुनको अधीनमा रही सेयर उपलब्ध गराउने योजनासमेत बनाएको छ ।
कान्तिपुर अनलाइनका अनुसार आयोजनाको निर्माण कार्य ४२ महिना छ । अर्धजलाशययुक्त आयोजना रहेको यो मनाङको चामे र नासों गाउँपालिकामा पर्दछ । यस आयोजनाको बाँध चामे गाउँपालिका–३ कोतोमा तथा विद्युत् गृह नासों गाउँपालिका–९ मा बनाइने कम्पनीले बताएको छ । आयोजना निर्माण सकिएपछि वार्षिक ७६६ गिगावाट (जीडब्लूएच) विद्युत् उत्पादन हुनेछ ।
यी स्वदेशी तथा विदेशी कम्पनीको संयुक्त सेयर लगानीमा मर्स्याङ्दी नदीमा क्यास्केड अवधारणामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामध्ये यो आयोजना पहिलो आयोजना रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘मनाङ र लमजुङमा अवस्थित अन्य दुई आयोजनामा १३९.२ मेगावाट क्षमताको लोअर मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी–२ जलविद्युत् आयोजना छन्,’ विज्ञप्तिमा भनिएको छ ।
यी तीनवटै आयोजनाको कुल जडित क्षमता ६०१.२ मेगावाट र कुल लागत एक अर्ब २० करोड अमेरिकी डलर रहनेछ । उल्लिखित प्रत्येक आयोजना छुट्टाछुट्टै कम्पनीमार्फत निर्माण गरिने जनाइएको छ ।