पूर्वी नेपालको काँकडभिट्टामा पहिलो रिडर्स फेस्टिभलको तयारी
रिडर्स फेस्टिभलको पहिलो संस्करण मंसिर अन्तिम साता झापाको काँकडभिट्टामा हुने भएको छ।
पठन संस्कृतिको विकास गर्ने हेतुले स्थापित रिडर्स अभियान नेपालले मंसिर २७, २८ र २९ मा पहिलो फेस्टिभल आयोजना गर्न लागेको हो। अभियानका अध्यक्ष सन्तोष आचार्यका अनुसार फेस्टिभलको तीन दिन विभिन्न पुस्तकका लेखक र पाठकहरूले सघन अन्तरक्रिया गर्नेछन्।
‘नेपालमा भइरहेका कला–साहित्य उत्सवहरूको अहिलेसम्मको चलन हेर्दा लेखक बढी बोल्ने, पाठकले सुन्ने हुँदै आएको देखिएको छ’, अध्यक्ष आचार्यले भन्नुभयो, ‘हाम्रो फेस्टिभलमा लेखकभन्दा पाठकहरू बढी प्राथमिकतामा हुनेछन्।’
झापाको पूर्वी सीमा सहर काँकडभिट्टामा हुन लागेको रिडर्स फेस्टिभलमा कोशी प्रदेशदेखि नेपालका विभिन्न भागबाट लेखक तथा पाठकहरू सहभागी हुनेछन्।
‘लेखन–पठन तथा चिन्तनका विभिन्न विषयमा विमर्शहरू पनि हुनेछन्’, आचार्यले थप्नुभयो, ‘पठन संस्कृतिको विकास र प्रवर्द्धनका लागि लक्षित क्षेत्र र वर्ग भनेकै विद्यार्थीहरू हुन्। उनीहरूमा सुरूदेखि नै अध्ययन संस्कृति विकास गर्न सकियो भने मात्र पठन संस्कृतिको विकास सम्भव हुन्छ।’
सेतोपाटी अनलाइनका अनुसार ३ दिने उत्सवमा परिवर्तित अध्ययन शैली र पठन संस्कृतिलाई उत्प्रेरित र प्रोत्साहित गर्ने गरी मावि तथा क्याम्पस स्तरका विद्यार्थी र खुल्ला रूपमा अनौपचारिक अध्ययनमा लागेकाहरूलाई समेटेर फेस्टिभलमा प्रतिस्पर्धात्मक प्रस्तुति हुने आचार्यले बताउनुभयो।