बीआरआईमा सस्तो ऋण लिने प्रधानमन्त्रीको प्रस्ताव
चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा मतभेद भएपछि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू सहमतिको प्रयासमा जुटेका छन्। तर, कांग्रेस सो सम्झौताका लागि सकारात्मक नरहेपछि सत्ताका दुई घटकबीच दूरी बढ्न नदिन नेताहरू छलफलमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर तेस्रो साता हुने चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने योजना छ तर, सत्ता साझेदार कांग्रेस बीआरआई योजना कार्यान्वयन गर्ने पक्षमा छैन।कांग्रेसले ऋण नलिने तर कुनै योजनामा अनुदान भए लिन सकिने अडान राख्दै आएको छ।
नेपालखबर अनलाइनका अनुसार चीन भ्रमणअघि दबाबमा परेका प्रधानमन्त्री ओलीले कांग्रेससँग छलफलका लागि प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई र कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई मुख्य जिम्मेवारी दिनुभएको छ।
प्रधानमन्त्री ओलीले न्यूनतम ब्याजदरमा ऋण लिने विषय प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए। तर यो विषयले सरकार भने तलमाथि नहुने उनको भनाइ छ।
‘प्रधानमन्त्रीले न्यूनतम ब्याजदरमा ऋण लिन प्रस्ताव गर्नु भएको छ। वर्ल्ड बैंक, एडीबीजस्तै सस्तो ऋण लिने/ नलिने भन्ने विषयमा कांग्रेस-एमालेले बनाएको उच्चस्तरीय संयन्त्रमा छलफल भइरहेको छ,' काङ्ग्रेसका ती नेताले भने सरकार अप्ठेरो हुनेगरी केही हुँदैन। दुईवटै पार्टीबिच समझदारी जुट्छ।’
काङ्ग्रेस-एमाले सहमति जुटेपछि त्यसअनुसार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव तयार पारेर प्रधानमन्त्री ओलीलाइ बुझाउने योजना छ।
नेपालखबर अनलाइनका अनुसार नेताहरूको अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि चीनले प्रस्ताव पठाइसकेको छ। बीआरआईका सन्दर्भमा धेरै अडान नराख्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ।