नेपाली

चिनियाँ अनुभवबाट लाभ लिनुपर्ने नेपाली विज्ञको प्रमलाई सुझाव

criPublished: 2024-11-17 15:51:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा त्यहाँको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न विज्ञहरूले सुझाव दिएका छन्। फ्रेन्डस् अफ चाइनाले नोभेम्बर १६ तारिख शनिबार राजधानी काठमाडौँमा आयोजना गरेको ‘आधुनिक चीनसँग नेपालको दुईपक्षीय सम्बन्ध’ विषयक अन्तर्क्रियामा उनीहरूले चिनियाँ लगानी आकर्षण, चीनको शिक्षाको मोडेल र अनुभवबाट नेपाललाई शिक्षाको हब निर्माण जस्ता विषय प्रधानमन्त्रीको भ्रमणको मुख्य प्राथमिकता बनाउन आग्रह गरेका गोरखापत्र अनलाइनले लेखेको छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विपिन देवले प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्दा एक भ्रमण, एक योजना बनाउनुपर्ने भन्दै चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

त्रिभुवन विश्वविद्यालयका अर्का प्राध्यापक केशव सिग्देलले नवप्रवर्तनकारी काम गर्न चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्न सके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरू विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताउनुभयो।

कार्यक्रमका अर्का वक्ता डा. विक्रम तिमल्सिनाले विश्वास र सद्भावबाट नै दुई देशबिचको सम्बन्ध प्रगाढ र बलियो बन्ने भन्दै यसबाट दुई देशबिचको सम्बन्ध पनि मजबुत हुने बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकले प्रधानमन्त्रीले भ्रमण गर्दा एजेन्डा र प्राथमिकतामा अलमल हुने गरेको भन्दै यस पटक त्यस्तो हुन नहुने बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn