नेपाली

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

CRIPublished: 2024-11-15 15:41:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै नेपाल पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ। क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ। टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो।

नोभेम्बर १३ तारिख बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको हो।

त्यस्तै नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू-१९ महिला एसिया कपका लागि पनि छनोट भएको अनलाइन खबरले लेखेको छ।

विश्वकपमा छनोट भएको नेपाली महिला टोली नोभेम्बर १४ तारिख बिहिबार साँझ नेपाल फर्किएको छ।

बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का पदाधिकारी लगायतले यू१९ महिला क्रिकेट टोलीलाई स्वागत गरेको छ।

दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर अर्को वर्ष जनवरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो।

चार टोली सहभागि छनोटमा नेपाल र युएईले समान ५ जितबाट १० अंक जोडेपनि नेटरनरेटमा नेपालले युएईलाई पछि पार्‍यो। यसअघि युएई र थाइल्याण्ड भन्दा पछि रहेपछि छनोट हुन असफल रहेको युवा महिला टोलीले यस पटक भने विश्वकप पुगेर नेपाली क्रिकेटमा इतिहास रचेको हो। महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा छनोट भएको यो पहिलो पटक हो।

एसिया छनोट जितेपछि नेपाल आगामी डिसेम्बरमा मलेसियामै हुने एसीसी यू-१९ महिला एसिया कपका लागि समेत छनोट भएको छ। जहाँ नेपालले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ।

यू-१९ टी२० विश्वकपमा नेपाल समूह डी मा छ। जहाँ नेपालले अष्ट्रेलिया र बंगलादेशसहित युरोप छनोटको विजेता हुँदै छानिएको स्कटल्याण्डसँग खेल्नेछ।

महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएको प्रशिक्षक महेश प्रसाद रिजालले बताउनुभयो। टिमवर्कले नेपाल विश्वकप पुग्न सफल भएको कप्तान पुजा महतोले बताउनुभयो।

महिला क्रिकेट नयाँ उचाई चुम्ने पर्खाइमा थियो। यू१९ टोलीले त्यसलाई वास्तविकतामा परिणत गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn