एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे
पाल्पाको रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका गोरखापत्र अनलाइनले लेखेको छ।
अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्षअघि रिब्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउरालीलगायतका स्थानमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) को सहयोगमा सुरु भएको अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खुर्सानी खेतीबाट किसानले गर्ने आम्दानी बढेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । “गत वर्ष चार करोडको अकबरे खुर्सानी बिक्री गरिएको थियो,” उहाँले भन्नुभयो, “यस वर्ष छ करोडभन्दा बढीको बिक्री भइसकेको छ ।” यहाँका किसानले यस वर्ष प्रतिकिलो दुई सयदेखि पाँच सय रुपियाँसम्ममा खुर्सानी बेचेका छन् । किसानले उत्पादन गरेको अकबरे बेच्न पालिकाले विभिन्न स्थानका चाउचाउ कम्पनी तथा अन्य खुर्सानी खरिद गर्ने कम्पनीसँग समन्वय गर्दै आएको छ । पालिकाको समन्वयमा किसानले उचित मूल्यमा अकबरे खुर्सानी बिव्रmी गर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो ।
गाउँपालिकाले खुर्सानी खेतीका लागि निःशुल्क बिउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण र प्राविधिक सहयोग गर्दै आएको छ । अकबरे खुर्सानी खेतीले राम्रो प्रतिफल दिन थालेपछि यहाँका किसान थप उत्साहित बनेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खेती विस्तार गर्ने किसानको सङ्ख्या र क्षेत्रफलसमेत बढेको गाउँपालिकाकी कृषि प्राविधिक प्रज्ञा लाम्टाङेले बताउनुभयो ।
अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको रिब्दीकोट–३ का किसान लक्ष्मण अर्यालले बताउनुभयो । उहाँले आफूले एक हजार पाँच सय बिरुवाबाट २० क्विन्टल अकबरे उत्पादन गरी बेचेको जानकारी दिनुभयो ।
किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ चार वर्षअघि सुरु गरिएको अकबरे खुर्सानी खेतीमा अहिले एक हजार किसान सक्रिय रहेका छन् । अहिले अन्य खेती छाडेर अकबरे खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको पालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । वार्षिक एक लाखदेखि १० लाखसम्म आम्दानी गर्ने किसान पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।