एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे
अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको रिब्दीकोट–३ का किसान लक्ष्मण अर्यालले बताउनुभयो । उहाँले आफूले एक हजार पाँच सय बिरुवाबाट २० क्विन्टल अकबरे उत्पादन गरी बेचेको जानकारी दिनुभयो ।
किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ चार वर्षअघि सुरु गरिएको अकबरे खुर्सानी खेतीमा अहिले एक हजार किसान सक्रिय रहेका छन् । अहिले अन्य खेती छाडेर अकबरे खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको पालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । वार्षिक एक लाखदेखि १० लाखसम्म आम्दानी गर्ने किसान पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।