कतार एयरवेजले नोभेम्बर १२ तारिखदेखि भैरहवाबाट उडान थाल्ने
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन्। यसैक्रममा यही नोभेम्बर १२ तारिख मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको कान्तिपुर अनलाइनले लेखेको छ।
नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि भैरहवाबाट दैनिक उडान भर्न लागेको हो। कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्ने प्राधिकरणले जनाएको छ। यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ। भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ। विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहाँबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ। कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।
यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन्। जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ।
यहाँबाट फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ। नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ। भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ। नेपाल एयरलायन्सले शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ। नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ। थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ।