नेपाली

अब नेपालका सातै प्रदेशमा आधुनिक गोदामघर

criPublished: 2024-11-10 15:59:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने भएको छ । प्रत्येक प्रदेशमा खाद्यान्नको भण्डारण गर्ने गरी कम्पनीले १० लाख मेट्रिक टन क्षमताको गोदामघर निर्माण गर्ने तयारी गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले खाद्यान्नको भण्डारण क्षमता बढाएर सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने योजना अगाडि बढाइएको जानकारी दिनुभयो ।

हाल कम्पनीसँग देशभर डेढ लाख मेट्रिक टन खाद्यान्न भण्डारण क्षमता छ । खाद्यान्नको भण्डारण क्षमता न्यून भएकाले आपूर्ति व्यवस्था सहज बनाउन क्षमता बढाउन लागिएको कम्पनीले जनाएको छ । कम क्षमताको भण्डारण हुँदा प्राकृतिक बाढीपहिरोलगायतका आपत्कालीन अवस्थामा खाद्यान्नको आपूर्ति गर्न कठिन भएकाले सातै प्रदेशमा क्षमता बढाउन लागिएको आचार्यले जानकारी दिनुभयो । प्रत्येक वर्ष सरकारले बजेटमार्फत सातै प्रदेशमा खाद्यान्न भण्डारण क्षमता बढाउने घोषणा गरे पनि अझै कार्यान्वयनमा आउन सकेको थिएन । कम्पनीले खाद्यान्न आपूर्ति व्यवस्था सहज र सुरक्षित राख्न सातै प्रदेशमा आपत्कालका लागि मुलुकभर २५ हजार मेट्रिक टन खाद्यान्न राष्ट्रिय खाद्य बैङ्कमा सुरक्षित राख्ने प्रचलन छ । सार्क देशमा खाद्यान्नको सङ्कट हुँदा आपूर्ति व्यवस्था सहज बनाउने २५ हजार मेट्रिक टन खाद्यान्न मौज्दातमा राख्ने गरिएको कम्पनीले जनाएको छ ।

खाद्यान्न भण्डारण गरेबापत कम्पनीले सरकारबाट अनुदान र भण्डारणबापतको रकम पाउँछ । किसानबाट धान खरिद गरी कुटाएर कम्पनीले खाद्यान्नको मौज्दात राख्ने गरेको छ । कम्पनीले दुर्गम तथा सुगम जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको छ । उपभोक्तालाई राहत दिन चाडपर्वका बेला कम्पनीले सुपथ मूल्यमा खाद्यान्न पनि वितरण गर्दै आएको छ । स्थानीय पालिकासँग समन्वय गरेर १२ महिना नै सुपथ पसल सञ्चालन गर्ने तयारी गरिरहेको पनि कम्पनीले जनाएको छ । स्थानीय पालिकाले सुपथ पसल सञ्चालन गर्ने ठाउँ उपलब्ध गराए १२ महिनै खाद्यान्न उपलब्ध गराएर सुपथ मूल्य पसल चलाउने गरी छलफल भइरहेको प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिनुभयो ।गोरखापत्र।

Share this story on

Messenger Pinterest LinkedIn