नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आजदेखि तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलो पटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । “गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलो पटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरू बढ्नेछन् र यात्रुहरूको आकर्षण पनि बढ्नेछ”, उहाँले भन्नुभयो ।
नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रो पटक भैरहवाबाट बैङ्कक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन [सोमबार र बिहीबार] बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको गोरखापत्र अनलाइनले जनाएको छ। गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।
उडान तालिकाअनुसार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण भएर भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ। यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।