नेपाल–चीनबीचको कूटनीतिक सम्बन्ध : आज पोखरामा ‘क्रस कन्ट्री दौड’प्रतियोगिता
हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुँदैछ। नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ। समूह विजेताले रु चार लाख ५८ हजार, उपविजेताले रु तीन लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार पाउनेछन्।
विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले रु ३० हजार पाउँने छ । पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ।
प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले बताउनुभयो। प्रतियोगिताले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास छ।
साहसिक खेलकुदको सहरका रूपमा परिचित पोखरामा यो प्रतियोगिताका साथै इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन्। पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन्।
नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। व्यापारिक प्रयोजनका लागि पनि चिनियाँ पोखरा आउने गरेका छन्।