मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामै बिजुली उत्पादन
हिँउदमा पनि पानी परेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि पानी प्रशस्त परेपछि उत्पादनमा असर नपरेको केन्द्रले जनाएको छ । पानी कम पर्ने समय असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत मुसलधारे वर्षा भएपछि पूर्ण क्षमतामै बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो।
नदीमा पानीको बहाव बढेपछि कात्तिकमा समेत पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको गौतमले बताउनुभयो । गत वर्ष सुख्खायाममा हिँउ कम पग्लिने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत् उत्पादन भएकोमा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताउनुभयो । तीनवटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।
मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ। यहाँ उत्पादित बिजुली भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको गोरखापत्र अनलाइनले लेखेको छ।
केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्रान थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सुख्यायाममा भने हिँउ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ।