नेपाली

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा नेपालका ऊर्जामन्त्री सहभागी

criPublished: 2024-11-04 16:05:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी हुनुभएको छ। भारतको नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म सातौँ गठबन्धन सम्मेलन भइरहेको छ। सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो। उक्त सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए।

उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ। यस्तै, सम्मेलनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सहअध्यक्ष, महानिर्देशकलगायत विभिन्न पदमा नयाँ कार्यसमिति चुन्ने कार्यक्रमसमेत छ।

उक्त सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यकपर्ने अमेरिकी डलर एक हजार अर्ब भन्दा बढीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ। यसले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धीमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्नेछ।

सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्ने नागरिकन्यूज डटकमले जनाएको छ।

उक्त सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य उर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यासहरुको आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn