भाइटीकाको दिन खुला गरिने बालगोपालेश्वर मन्दिर
नेपालीको दोस्रो ठूलो चाड तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाएर भाइटीका मनाउने चलन रहेको छ।
यसका साथै काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पनि खुला गरिएको छ। हरेक वर्ष यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन अर्थात् भाइटीकाका दिन यो मन्दिर खुलाइने चलन छ।
दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिए तापनि बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु भएको जनाइएको छ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।
यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ। साथै, महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आइतबार आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ। मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ।
यमपञ्चकमा पर्वत मूलका र मैथिल हिन्दूको पर्व मनाउने विधि र तरिका केही फरक भएपनि पौराणिक कथावस्तु भने एउटै देखिन्छ। सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टिका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डाक्टर राजेन्द्र विमलको भनाइ छ।