कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी
पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौँ फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि सङ्कलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिनुभयो।
सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्याङ्ग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानसँग छलफल र नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो। डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा सङ्घका सचिव गीता श्रेष्ठ, कार्यकारी निर्देशक सृजना भट्ट, सल्लाहकार भीम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रालिका सञ्चालक छिरिङवाङदी गुरुङको टोली छार्का गएको थियो ।
कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्याङ्ग्रा फार्म अवलोकन, भुवाको नमूना सङ्कलन र किसान र जनप्रतिनिधिसँग छलफल गरेर फर्किएको हो । छार्काताङसेन गाउँपालिकाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, सङ्कलन गर्ने सीप र प्रविधि सिकाउन र सङ्कलन केन्द्र बनाउन प्रस्ताव गर्नुभएको थियो। मुस्ताङ हुँदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उहाँले बताउनुभयो। समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको छार्काका करिब एक सय घर किसानले ३० हजारभन्दा बढी च्याङ्ग्रा पालेका नेपालसमाज अनलाइनमा खबर छ।
वैशाख, जेठ र असार च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्याङ्ग्राको शरीरबाटै झरेर खेर जाने गरेको छ।