नेपाली

यमपञ्चक शुरू, भाइटीकाको साइत ११:३७ बजे

criPublished: 2024-10-30 17:24:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रुपमा आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बुधबार बिहान यमराजको दूतका रुपमा कागलाई मीठोमीठो चीजबीज खान दिएर मनाइएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको हो। मङ्गलबार बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले मङ्गलबारदेखि नै तिहार सुरु भएको समितिको भनाइ छ। काग तिहार कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ।

बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।

यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ। यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको पनि उहाँले बताउनुभयो।

साथै, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभएको छ। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ। मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ। कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँसी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn