गृहमन्त्रीद्वारा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन
नाकामा भन्सार कार्यालय,क्वारेन्टाइन लगायतका पूर्वाधार निर्माण गरी कोरला नाकाबाट नै एकिकृत सेवा दिने तयारी गरिएको प्रजिअ भुसालले बताउनुभयो। पूर्वाधार निर्माण गरेर नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालय सँगै राख्ने तयारी भएको प्रजिअ भुसालले जानकारी दिनुभयो।
कोरनाका कारण चारवर्षदेखि बन्द रहेको उक्त नाका गत वर्षदेखि सञ्चालनमा आएको थियो। नेपाल–चीनबिचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकाको नेपाल तर्फको भूभागमा अस्थायी संरचना निर्माण गरी नाका सञ्चालनमा ल्याइएको छ।
समुद्र सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ। अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने भएका छन्। यसअघि मुस्ताङका जनप्रतिनिधिहरुले नेपाल सरकारसँग अध्यागमन कार्यालय स्थापनाको माग गर्दै आएका थिए।
नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी) भवन निर्माण भएको छ। जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडक पुगेको छ। नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्दै आएकोमा अध्यागमन कार्यालय सञ्चालनमा आएपछि थप सहज हुनुका साथै सबै नेपालीहरुलाई नाका पार गरेर व्यावसायिक कारोबार गर्न सजिलो हुने लोमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो।
नाकापारी चिनियाँ पक्षले भने दशगजा छोडेर आधुनिक सूचना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा प्रबन्धलगायतका पूर्वाधार निर्माण गरेको छ। कोरनाका कारण बन्द रहेको कोरला नाका अघिल्लो वर्षको कात्तिक २७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो।