रसुवागढी–केरुङ राजमार्गबाट आयात शुरु
बाढीपहिरोका कारण सिचाङ अर्थात् तिब्बतको केरुङमा रोकिएका मालवाहक कन्टेनर तथा नयाँ आयात गरेका चिनियाँ गाडी एक महिनापछि मंगलबार साँझसम्म नेपालको रसुवा नाका भित्रिएका छन्। रसुवा भन्सार कार्यालयका अनुसार व्यापारिक सामान बोकेका ४८ वटा कन्टेनर यता आएका छन्। सोही संख्यामा खाली कन्टेनर केरुङ गएका छन्।
रसुवा भन्सारका अधिकृत हंस रावलका अनुसार केरुङबाट तयारी पोसाक ३२, जलविद्युत्का सामान ७ र फलफूल ६ र ओखर ३ वटासहित ४८ गाडी भित्रिएको छ। सामान बोकेकाबाहेक २७ वटा चिनियाँ इलेक्ट्रिक गाडी भित्रिएको छ। ती गाडीमध्ये आज ११ वटाले भन्सार तिरेर काठमाडौं लैजाने तयारी गरेको रावलले जानकारी दिनुभएको छ।
मंगलबार साँझ रसुवाबाट तीन वटा कन्टेनर स्याउ लिएर काठमाडौं आएका थिए। तिब्बतको केरुङ प्रशासनले मंगलबार बिहानबाट सवारी साधान एकतर्फी रूपमा आउने जाने अनुमति दिएको कान्तिपुर दैनिकले लेखेको छ।
बाढीले रसुवा नाकाको केरुङतर्फको २४ किमि सडक क्षतिग्रस्त भएपछि दसैं, तिहार र छठका लागि झिकाइएका सामान एक महिनादेखि रोकिएको थियो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले कन्टेनर तथा साना गाडी नेपाल भित्रिन थालेको जानकारी दिनुभएको थियो।
चिनियाँ अधिकारीहरूले सामानसहित १३ टन तौल भएका मालवाहक गाडी मात्र एकतर्फी आउजाउन गर्न सक्ने सूचना सोमबार नेपालका सीमा अधिकारीलाई पठाएको थियो। सोही सूचनाका आधारमा चिनियाँ अधिकारीहरूले दिएको सूचना उद्धृत गर्दै प्रजिअ पौडेलले कन्टेनर बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट सामान बोक्ने खाली कन्टेनर केरुङ जाने तालिका मिलाइएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले केरुङका ६ सयभन्दा बढी कन्टेनर सामान रहेको बताउनुभएको छ। अध्यक्ष कार्कीले १३ टन सामान ल्याउन पाउने व्यवस्थाले फलफूलका कन्टेनर सहज रूपमा ल्याउन कठिन हुने बताउनुभयो। सामानको आयात सुरु भएसँगै बाढीअघि एक कन्टेनर सामान काठमाडौं ल्याउने ढुवानी भाडा ९० हजारबाट बढाएर २ लाख पुर्याइएको गुनासो व्यवसायीले गरेका छन्।
रसुवा भन्सारका सूचना अधिकारी तथा अधिकृत रवीन्द्र प्याकुरेलका अनुसार तत्कालका लागि कन्टेनर बिहान ८ बजेदेखि ११ बजेसम्म केरुङबाट रसुवा आउने र यताबाट बेलुकी ४ बजेपछि केरुङ जाने तालिका बनाइएको छ।
बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म चिनियाँहरूले क्षतिग्रस्त सडक बनाउने समय निर्धारण गरेका छन्। केरुङतर्फको सडक क्षतविक्षत् भएको सीमा अधिकारीहरू बताउँछन्। सडक पैदल हिँडन पनि नहुने भएपछि दसैंअघि चिनियाँ सुरक्षाकर्मीको सहयोगमा नेपालीहरू केरुङबाट सीमासम्म आएका थिए।