श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ। सरकारले कात्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै वृद्धि गरेर १० लाख रुपियाँ पुर्याइएको वैदेशिक आर्थिक सहायता लागु भएको गोरखापत्र अनलाइनले लेखेको छ।
यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार र विदेशमा रोजगारीकै क्रममा गम्भीर बिरामी वा अङ्गभङ्ग भएकाले आर्थिक सहायताबापत प्रतिव्यक्ति सात लाख रुपियाँ पाउँदै आएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार (छैटौँ संशोधन) नियमावली–२०८१ मार्फत वैदेशिक रोजगारीका क्रममा मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामीले प्राप्त गर्ने आर्थिक सहायताबापतको रकम वृद्धि गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले हाल दिँदै आएको आर्थिक सहायताबापतको रकम थोरै भएकाले अहिले पाउँदै आएकोमा तीन लाख वृद्धि गरी १० लाख रुपियाँ पुर्याइएको जानकारी दिनुभयो। यस प्रकारको आर्थिक सहायता रकम वैदेशिक रोजगारीका क्रममा वा नेपाल फर्किएको एक वर्षसम्म मृत्यु भएमा प्रतिपरिवार १० लाख रुपियाँ दिने गरी नियमावली संशोधन गरी कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो।
गत असोजमा बसेको मन्त्रीपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधनलाई स्वीकृत गर्दै आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो। सहायता रकमसम्बन्धी निर्णय धेरै पुरानो भएको र अहिलेको अवस्थामा कम भएकाले बढाउने निर्णय गरिएको श्रममन्त्री भण्डारीले जानकारी दिनुभयो।
यसअघि २०८० साउनमा नै श्रममन्त्री भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको बैठकले आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो। बोर्डबाट २०६५ सालदेखि मृतकका आफन्त तथा अङ्गभङ्ग भएका श्रमिकलाई आर्थिक सहायता दिन थालिएको हो।
सुरुमा आर्थिक सहायतास्वरूप मृतकका परिवारलाई तीन लाख रुपियाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४/७५ देखि बढाएर सात लाख रुपियाँ पुर्याइएको थियो। बोर्डले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका तथा बिरामीसमेत आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।
अङ्गभङ्ग भएर फर्किएका व्यक्तिको अवस्था हेरेर न्यूनतम २५ हजारदेखि बढीमा सात लाख रुपियाँसम्म उपलब्ध गराउँदै आएको छ। अब भने थोरैमा २५ हजारदेखि बढीमा १० लाख रुपियाँसम्म पाउने छन्। वैदेशिक रोजगारीका क्रममा कसैको ज्यान गए शव नेपाल झिकाउने तथा शवलाई घाटसम्म पुर्याउन पनि बोर्डले सहयोग गर्दै आएको छ। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपियाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवार वैदेशिक रोजगारीकै क्रममा अङ्गभङ्ग भएर फर्किएमा श्रमिकको वृद्धि गरिएको १० लाख आर्थिक सहायता रकम नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ।
वैदेशिक रोजगारीका क्रममा ठुलो सङ्ख्यामा युवाले ज्यान गुमाउने तथा अङ्गभङ्ग भएर फर्कने गरेका छन्। आव २०८०/८१ मा एक हजार एक हजार ३४६ युवाले ज्यान गुमाएका छन्। गत आवमा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ६५३ जनालाई आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ। वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ। कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन्। मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्याको ठुलो सङ्ख्या छ।
वैदेशिक रोजगारका विज्ञ रामेश्वर नेपालले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण विदेश जानेलाई अपेक्षा धेरै देखाइने तर पर्याप्त सूचना नहुनु र धोकापूर्ण श्रमिक भर्ना प्रक्रिया रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा जाने युवालाई समयमै आधारभूत विषयमा पर्याप्त सूचना दिएर पठाउन सकियो भने विदेशमा हुने मृत्युका घटनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ।