नेपाली

स्वास्थ्य सेवा सुधारका कार्यक्रम ‘निरोगी नेपाल अभियान’

CRIPublished: 2024-10-25 16:06:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेको एक सय दिन पुगेको अवसरमा स्वास्थ्य सेवा र संस्था सुधारमा जोड दिएको घोषणा गर्दै अवधिमा नागरिकको स्वास्थ्य सेवामा गुणस्तरीय सेवासहितको पहुँचका लागि काम गरेको बताउनुभएको छ।

यो अभियानका लागि बढ्दै गएका नसर्ने रोग, मुटु, मिर्गौला र क्यान्सरजस्ता समस्यामा सेवा विस्तार गरेको, मिर्गौला र क्यान्सर रोगको समयमै पहिचानका लागि प्राथमिक स्वास्थ्य केन्द्रमै यसको परीक्षण गर्ने गरी व्यवस्थापन गर्न लागेको भन्दै उहाँले स्थानीय स्वास्थ्य संस्थामा यी रोगको पहिचान हुने गरी सेवा विस्तार गर्न लागेको जानकारी दिनुभएको नागरिकन्यूज डटकमले जनाएको छ।

मन्त्री पौडेलले अबको तिन महिनामा सबै व्यवस्थापन गरेर कार्यक्रम लागु गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर मिर्गौला प्रत्यारोपणमा नाता विस्तार गर्ने कुरा सम्भव नभएको, यसको सट्टा मृत्युपर्यन्त अंगदानलाई प्रभावकारी बनाई सेवामा पहुँच पुर्याउने उहाँले बताउनुभयो।

त्यसैगरी ‘निरोगी नेपाल, निरोगी पुस्ता’ निर्माणका लागि कार्यक्रम सुरु गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो। सबै प्रदेशमा मुटु तथा मिर्गौला सेवाको थालनी, आरोग्य केन्द्रको विस्तार, किशोरीहरूलाई यही वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, सुत्केरी महिलाको मानसिक स्वास्थ्यका लागि प्रसूति अस्पतालमा मानसिक स्वास्थ्य सेवा विस्तार गरिसकेको बताउनुभयो। स्वास्थ्य बिमालाई हालको एक लाखको दायराबाट पाँच लाखको दायरामा पुर्याउने, कुनै पनि रोगको जाँच नेपालमै हुने गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो। त्यस्तै चिकित्सा शिक्षामा सिट थप गरी विषयगत कार्यक्रम थप गरिएको छ।

उहाँले अंग प्रत्यारोपण सेवाविस्तार गर्दै हालको राष्ट्रिय धर्मभक्त केन्द्रलाई हालको स्थानवाट सूर्यविनायकमा सार्ने गरी ३० रोपनी जग्गाको सुनिश्चित भइसकेको जानकारी दिनुभयो।

मन्त्री पौडेलले स्वास्थ्य बिमामा सुधार गरी कुनै पनि औषधीको मूल्य नबढ्ने गरी समायोजन गर्ने तयारी भएको, यसका लागि औषधी ऐनको प्रतिस्थापन विधेयक तयार भएको, आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेटका लागि कार्य भइरहेको, संघीय अस्पतालमा दुई सत्रमा बहिरंग सेवा विस्तार गरेको, अस्पतालमा रहेका पुराना उपकरणको उचित उपयोग गर्न मर्मत कार्य भइरहेको र यसका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भई काम भइरहेको जनाउनुभयो।

स्वास्थ्य सेवाका लागि बेलायत सरकारसँग १२ मिलियन पाउन्ड सहयोग हुने र पोषण कार्यक्रमका लागि अमेरिकी सरकारबाट ७२ मिलियन रूपैयाँ सहयोग गर्ने सम्झौता भएको छ। यसका साथै निरोगी पुस्ताका लागि नवजाति शिशुको स्वास्थ्य जाँचको नवजात शिशु मुटु परीक्षण सेवा विस्तार भएको छ। त्यसैगरी यो अवधिमा मन्त्रालयले वीर अस्पतालको बन्द जलन उपचार सेवा पुनः सञ्चालनमा ल्याएको र सातै प्रदेशमा निःशुल्क जलन उपचार सेवा विस्तार गरेको छ। हैजा तथा डेंगीजस्ता संक्रमण रोगको व्यवस्थापनका लागि स्थानीय तहसँग बैठक बसी सहकार्य गर्ने व्यवस्था गरेको छ। डेंगी, हात्तीपाइले सार्ने लामखुट्टेको मलिक्युलर परीक्षण ल्याब सञ्चालन, वैशाखदेखि मंसिरसम्म ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ कार्यक्रमअन्तर्गत हरेक शुक्रबार सफाइ कार्यक्रम सञ्चालन गरेको छ। त्यसैगरी विश्वमा महामारीको रूप लिँदै गएको एमपक्सको पनि सातै प्रदेशमा १४ वटा अस्पतालमा उपचारको व्यवस्थापन गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn